आइतबार, वैशाख ६, २०८३

खजुरा क्षेत्रमा फुटबलको आकर्षण बढ्दै

मेरोन्यूज २०८३ वैशाख ६ गते १८:१४

राँझा (बाँके)। पछिल्लो समय नेपालगञ्ज रङ्गशालामा दर्शक हराउँदै गएका बेला बाँकको खजुरा क्षेत्रमा भने फुटबल खेलप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । खजुरा क्षेत्रमा आयोजना हुने सानादेखि ठूला सबै फुटबल प्रतियोगितामा स्थानीय दर्शकको उल्लेख्य सहभागिता देखिन्छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यहाँका गाउँमा हुने फुटबल प्रतियोगिता हेर्न टाढाटाढाबाट स्थानीय खेल मैदानसम्म पुग्ने गरेका छन् । अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले यहाँ हुने फुटबलमा खेलाडी र दर्शकको सहभागिताले खेलप्रति आकर्षण बढ्दै गएको देखाउने बताए ।

“नेपालगञ्ज रङ्गशालामा हुने फुटबल प्रतियोगितामा दर्शक सङ्ख्या न्यून हुँदा खजुरा क्षेत्रमा भने यो सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “खजुरा क्षेत्र फुटबल खेलाडी उत्पादनको उर्वर क्षेत्र हो, यहाँ फुटबलप्रति स्थानीयको छुट्टै खालको लगाव छ ।”

खजुरा गाउँपालिकामा नियमितजसो ठूलासाना धनराशिका फुटबल प्रतियोगिता आयोजना भइरहने जनाउँदै शाहीले यसले खेलाडी र फुटबलप्रेमीलाई उत्साहित बनाएको धारणा राखे ।

खजुरा गाउँपालिका-४, डीगाउँमा करिब ६० लाखको खर्चमा एन्टी एरिना प्रथम खजुरा गोल्डकप सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेतालाई सात लाख र द्वितीयलाई चार लाख नगद पुरस्कार प्रदान गरिने आयोेजक न्यू डाँफे स्पोटर्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।

“पहिलो पटक गाउँमा गोल्डकप आयोजना गर्दैछौँ, सबैको साथ र सहयोग प्राप्त भएको छ”, उनले भने, “करिब ५० हजार दर्शकले प्रतियोगितामा खेल अवलोकन गर्ने हाम्रो अनुमान छ ।” एन्टी एरिना प्रथम खजुरा गोल्डकपमा यस क्षेत्रका साथै नेपालगञ्ज र कोहलपुरबाट समेत दर्शक सहभागी हुने गरेका खत्रीले बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गाउँमा हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्नुका साथै फुटबल खेलको विकास हुने बताउँदै गोल्डकपलाई आगामी वर्षदेखि पालिकाको वार्षिक बजेटमा राखेर निरन्तरता दिने जानकारी दिए ।

प्रतिक्रिया