राष्ट्रियसभा निर्वाचन
राष्ट्रियसभा निर्वाचन : एमालेलाई झिनो आशा प्रदेश १ मा मात्रै
राप्रपा, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्र एक सांसदको मत निर्णायक

काठमाडौं । कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत दलहरुको संयुक्त गठबन्धन बनेयता संघदेखि प्रदेश सरकारसम्म गुमाएको एमालेलाई अव राष्ट्रिय सभा निर्वाचनमा समेत ‘क्लिन स्वीप’ गर्ने सत्ता गठबन्धनको तयारी छ । त्यही रणनीतिका आधारमा माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठवन्धनले एमालेलाई एक्लाउँदै सातै प्रदेशमा गठबन्धन निर्माण गरेर उम्मेदवारी दिएका छन् ।
सातै प्रदेशमा गरी रिक्त राष्ट्रियसभाको १९ पदमा हुन लागेको निर्वाचनमा एमालेलाई अन्यत्र प्रदेशको चुनावमा अव भर छैन । तर झिनो आश भने प्रदेश १ मा छ ।
प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख (अध्यक्ष/उपाध्यक्ष) मतदाता रहेको यो प्रदेशमा मात्रै एमाले गठवन्धन भन्दा केही मात्रामा वलियो देखिएको कारण उसलाई झिनो आश छ । तर संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८र स्वतन्त्र एक सांसदको मत निर्णायक हुने भएपछि उनीहरुले के गर्छन् ? भन्नेमा नै यो प्रदेशको चुनावी परिणाम आंकलन गर्न सकिने पनि विश्लेषण हुन थालेको छ ।
यो प्रदेशमा ३ पदका लागि चुनाव हुँदैछ । प्रदेश १ मा अपांगता भएका वा अल्पसंख्यक समुदायका १, महिला १ र अन्य समूहबाट प्रतिनिधित्व गरेका राष्ट्रिय सभाका एक सदस्यको पद रिक्त हुँदै छ । अल्पसंख्यकमा यसअघि निर्वाचित अगमप्रसाद बान्तवा राई, महिलामा नैनकला ओझा र अन्य समूहबाट परशुराम मेघी गुरुङको चार वर्षे कार्यकाल फागुन २० मा सकिदैछ ।
तर कार्यकाल सकिनु ३५ दिन अगाडी नै निर्वाचन गराईसक्नुपर्ने कानुनी ब्यवस्थाका आधारमा माघ १२ मा निर्वाचन हुँदैछ । त्यसका लागि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका निर्वाचन आयोगले बनाएको छ ।
को -को छन् उम्मेदवार ?
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राष्टिय जनमोर्चाले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् । एमालेको भने एक्लै उम्मेदवारी छ ।
सत्ता गठवन्धनले महिलामा जयन्ती राई (नेकपा एकीकृत समाजवादीकी नेतृ), अन्यमा गोपालकुमार बस्नेत (कांग्रेस) र अल्पसंख्यकमा हेमराज राई (जनता समाजवादी)लाई उम्मेदवार बनाएको छ । एमालेले भने अन्यमा देवराज घिमिरे (झापा),महिलामा सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यक सोनाम गेल्जन शेर्पा (सोलखुम्वु) लाई उम्मेदवार बनाएको छ ।
एमाले उम्मेदवार घिमिरे एमालेभित्रका पूराना नेता हुन् । उनी नेकपा कालमा प्रदेश १ का अध्यक्ष पनि थिए । उनी पार्टीको उपाध्यक्षको आकांक्षी थिए । तर ओलीले सर्वसम्मत पदाधिकारी चयनको प्रयास गरेपछि र उनको नाम नसमेटेपछि उनी उपाध्यक्ष हुने रहर त्यक्तिकै विसाउर चितवनवाट झापा फर्केका थिए । महिला उम्मेदवार रहेकी सुमित्रा सुवेदी भण्डारी ओली प्रधानमन्त्री हुादाका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईकी सासु आमा हुन् ।
झापाको दमकमा उनी ओलीकी छिमेकी पनि हुन् । उनी दमकमा एक औषधी पसले, पुस्तक पसले र स्थानीय इट्टाभट्टा स्कुलकी गुरुआमा भनेर चिनिन्छिन् । ओलीका अर्का स्वकिय सचिव इन्द्र भण्डारीकी काकी र पत्रकार गोपाल खनालकी पनि आफ्नै सासु हुन् ।
उनी डेनमार्कका लागि राजदुत सिफारिस भएकी थिइन ओलीको सरकारका पालामा । त्यस्तै, सोनाम ग्लाजेन शेर्पा सोलखुम्वुका हुन् । उनी पर्यटन ब्यवासायी हुन् । टानमा कोषाध्यक्ष सम्मको उम्मेदवार भएका शेर्पा स्माइल फर होप फाउन्डेसनका अध्यक्ष, सगरमाथा सरोकारका महासचिव, जुभिङ शेर्पा समाजको महासचिव सम्म हुन् ।
सत्ता गठवन्धनका उम्मेदवार बस्नेत भने झापाका पुराना कांग्रेस नेता हुन् । उनी देउवा निकट नेता मानिन्छन् । वि.स.२०७४ सालमा देउवा नेतृत्वको मन्त्रिपरिषदले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको भए पनि केपी शर्मा ओली नेतृत्वको सरकारले सो निर्णय फिर्ता लिएका कारण उनी त्यसवेला राष्टिय सभा सदस्य हुनवाट रोकिएका थिए ।
त्यस्तै सत्ता गठवन्धनकी महिल तर्फकी उम्मेदवार जयन्ती राई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकी नेतृ हुन्। नेपालकै पहिलो महिला जिविस उपसभापति समेत भइसकेकी टिन राई । त्यस्तै जसपाले भने हेमराज राईलाई अल्पसंख्यकवाट उम्मेदवार बनाएको छ ।
प्रदेश नम्बर १ मा गाउँपालिका तथा नगरपालिका स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर २ सय ७२ जना मतदाता रहेका छन् । यस्तै ९२ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश १ मा ९ हजार ३ सय ४८ मतभार रहेको छ ।
को वलियो छ ?
राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्न पाउँछन् । राष्ट्रिय सभा निर्वाचन ऐनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतदार १८ निर्धारण गरिएको छ । यही मतभारका आधारमा निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार प्रदेश १ मा सत्ता गठबन्धनको मतभार ४ हजार ४ सय ६४ छ भने एमालेको ४ हजार ५ सय ४२ छ । साना पार्टीको मतभार ३ सय ४२ छ । प्रदेश सदस्य टंक आङबुहाङले दल त्याग गरेपछि त्यो पदमा अर्को व्यक्ति निर्वाचित भइसकेको छैन ।
नेकपा एमाले यो प्रदेशमा पहिला आफैमा वहुमत थियो । अन्य सवै दल मिल्दा सम्म यो प्रदेशमा एमालेलाई कसैले पाखा लगाउन सक्ने अवस्थामा थिएन । तर एमालेमा आएको विभाजनले एमालेलाई कमजोर बनाईदिएको छ । तर पनि सत्ता गठवन्धन दलहरुसँग अहिले रहेको मतभार भन्दा झिनो वढी नै मतभार एमालेसँग रहेको छ ।
त्यही झिनो मतभारकै आधारमा सत्ता गठवन्धनले ‘क्लिन स्वीप’ गर्न खोजेको तयारीमा व्रेक लगाउने योजनामा एमाले छ । तर निर्णायक मानिएको राप्रपा २ सय १०, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ र स्वतन्त्र एक सांसदको मत निर्णायक बन्न सक्ने देखिन्छ । त्यसलाई फकाउने रणनीतिमा सत्ता गठवन्धन छन् ।
सत्ता गठवन्धन भन्दा ७८ मतभार वढी रहेको एमालेले राप्रपाको २ सय १०, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ र स्वतन्त्र एक सांसदको ४८ मतभार रोक्ने र आफनो पक्षको मत मात्र रोक्न सक्यो भने पनि झिनो मतले जित्न सक्नेछ । अन्यथा सत्ता गठवन्धनले निर्णायक मानिएका राप्रपा, संयुक्त लोकतान्त्रिक राष्टिय मञ्च र स्वन्तन्त्रको मत पनि तान्ने र आफुहरुसँग रहेको मत जोगाउन सक्यो भने एमालेलाई प्रदेश १ मा पनि पाखा लगाउँदै ‘क्लिन स्वीप’ गर्न सक्ने सम्भावना देखिएको छ ।
अन्य प्रदेशमा सत्ता गठवन्धन प्रष्ट वहुमतमा देखिएपनि यो प्रदेशमा हुने निर्वाचन भने रोचक देखिने भएको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया