मंगलबार, जेठ ६, २०८२

सन् २०२१ लाई फर्केर हेर्दा

चीनको अर्थतन्त्र उकालो लाग्दा धनी भनिएकाहरु कोरोनासँग जुध्दै

मेरोन्यूज २०७८ पुष २० गते १४:०६

काठमाडौं । सन् २०२१ हामीबाट विदा भएको छ । कोरोना कहरका कारण यस वर्ष अर्थतन्त्रमा नकारात्मक असर पर्यो । धनी भनिएका देशहरु समेत समस्यामा परे । खास रुपमा चीनको अर्थतन्त्र केही बसल देखिदा संसारका अन्य देशहरु भने समस्याको चक्रव्यूहमा नराम्ररी फसे ।

अमेरिका, यूरोप, अष्ट्रेलिया र जापान जस्ता देशलाई समेत कोरोनाले तहसनहस नै पारिदिएको छ । पछिल्ला दिनमा केही खुकुलो भएपनि ओमिक्रोनका कारण थप समस्या र जटिलता पैदा भएको छ । पछिल्लो २ वर्षदेखि यूरोप त एकाध महिनाबाहेक सम्पूर्ण रुपमा नै लकडाउनमा बस्न बाध्य भएको छ ।

भकारीमा थपिदा पो झिकेको थाहा हुँदैन, तर अर्थतन्त्रको भकारीमा नभर्ने, एकोहोरो झिक्ने मात्रै काम गरिदा क्रमशः स्रोत कमजोर बन्न पुगेको छ । बेलायतले यूरोपेलीसंघसँगको सम्बन्ध तोडेको छ । त्यसमाथि कोरोनाको कहर थपिदा समस्याको चाङमा वृद्धि भएको वर्षको रुपमा सन् २०२१ देखा पर्यो ।

कोरोनाले अवसर ल्याएको देशको रुपमा भने चीनलाई लिइन्छ । अन्तर्राष्ट्रिय निकायहरुका अनुसार चीनको अर्थतन्त्र यस वर्ष गुणात्मक रुपमा फड्को मार्यो । तर वर्षको अन्तिम महिनातिर आइपुग्दा अमेरिका र पश्चिमा देशहरुले कोइलामा लगाएको पावन्दीका कारण चीनका झण्डै ४० प्रतिशत उद्योग धन्दा बन्द भए । सोही कारण अर्थतन्त्रमा नराम्रो धक्का पुग्यो । कोइला प्लान्ट चलाएर बिजुली उत्पादन गर्ने चीनको उद्योग धन्दामा त्यसको असर देखिनु सामान्य जस्तै थियो । जुन समस्या भारतले पनि भोग्नुपर्यो ।

प्रतियुनिट बिजुलीको मूल्य २८ भारुसम्म पुग्यो । चीनको पूर्वोत्तर राज्यहरुमा देखिएको संकटले चीनलाई अत्याएको थियो । बेलायतको स्कटल्याण्डमा आयोजित जलवायु सम्मेलनका क्रममा कोइलाको उपयोगका सन्दर्भमा आएको प्रस्तावलाई चीन र भारतले पारित गर्न मानेनन् । किनकी, भर्खरै उनीहरुले कोइलाको संकटका कारण अर्थतन्त्रमा परेको प्रभावको भुक्तभोगी थिए ।

यद्यपी समग्रमा चीनको अर्थतन्त्र एउटा लय र गतिमा नै रहेको छ । कोरोनाका काराण उत्पन्न भएको अवसरलाई चिनियाँ सरकार र व्यापारीले सदुपयोग गरे । सोहीकारण हरेक दिनजसो नै नयाँ नयाँ अर्बपतिहरु थपिए । अर्बपतिहरुको विवरण संकलन गर्ने फोब्र्सका अनुसार १०० जना अर्बपतिमा अब चिनियाँहरुको संख्या नै बढी देखिन थालेको छ । तर, संसारले नै चिने जानेको अलिबाबाका ज्याक मा लाई चीन सरकारले लामो समयसम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगायो ।

चौतर्फी चासो र दबावपछि मात्रै चीन सरकारले आफै नै ज्याक मा लाई सार्वजनिक गराउन वाध्य भयो । उनको अर्को कम्पनी एन्टको सार्वजनिक निष्काशनमा समेत रोक लगाइदियो । संसारकै सबैभन्दा ठूलो मानिएको साधारण शेयर बिक्रीमा रोक लगाएर चीन सरकारले कानून भन्दा माथि कोही नरहेको संकेत समेत दियो ।

किनकी, ज्याक मा को कम्पनी अलिबाबा संसारभर नै लोकप्रिय छ । उनको कम्पनीको शेयर अमेरिकन स्टक एक्सचेञ्जमा सूचीकृत छ र त्यही कारोबार पनि हुने गरेको छ । कोरोनाका कारण अर्थतन्त्रमा मन्दी आउँदा चीनको एभरग्राण्ड नामक रियल स्टेट कम्पनी टाट पल्टियो । सो कम्पनीले बनाएका हजारौ हाउजिङहरु पनि यसैवर्ष भूत बंगलामा परिणत भए ।

कोरोना भाइरस महामारीका कारण सङ्कटमा फसेको विश्व अर्थतन्त्रले सन् २०२२ मा पुनर्जीवन प्राप्त गर्ला ? भन्ने प्रश्न यतिबेला नयाँ वर्ष शुरु भए लगत्तै पुनः सुनिन थालेको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत अन्य केही संस्थाहरुले गरेको अध्ययन अनुसार सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ४.९ प्रतिशतको हाराहारीमा रहने देखाएका छन् । तर, कोरोनाको ओमिक्रोन भेरिएन्ट लगायत अन्य भेरिएन्टहरुको प्रभाव के हुन्छ, सोही आधारमा मात्रै भन्न सकिने ती अध्ययनको निष्कर्ष देखिन्छ ।
सन् २०२० मा माइनस ३.१ को तुलनामा यो सकारात्मक वृद्धि हो, तर सन् २०२१ मा रहेको ५.९ प्रतिशतको तुलनामा यो झण्डै एक प्रतिशतले कम हो । यस आधारमा सन् २०२२ मा अर्थतन्त्रमा संकुचन भने नदेखिने तर, अवस्था भने आसै राम्रो नदेखिने पूर्व संकेतहरु यसबीचमा देखिएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको पछिल्लो विवरणमा हामीबाट बिदा हुँदै गरेको सन् २०२१ मा अर्थतन्त्रको वृद्धि ५.९ प्रतिशत रहने उल्लेख छ । तर, धेरै देशले भने यो विवरणलाई पत्याएका छैनन् । चीनको अर्थतन्त्र ७ प्रतिशतको हाराहारीमा सुधार हुने विषय वैज्ञानिक र तथ्य सुहाउँदो भएपनि अन्य देशको अवस्था भने सोचे जस्तो राम्रो नभएको बताइन्छ । किनकी, कोरोनाको असर पूर्ण रुपमा अन्त्य नहुँदासम्म अर्थतन्त्रले स्वछन्द उडान भर्न नसक्ने निष्कर्षहरु सार्वजनिक भएका छन् ।

दक्षिण अमेरिकी राष्ट्रहरु कोरोनासँगको संघर्षमा नै छन् । अमेरिकाका अस्पतालहरु कोरोनाको बिरामीले पुनः भरिन थालेका छन् । २८ हजार भन्दा बढी उडानहरु रोकिन पुगे । झण्डै १ लाख बढी उडानहरु डिले भएका छन् । असाध्यै व्यस्त मानिने अन्तर्राष्ट्रिय उडान हवहरु सामान्य रुपमा मात्रै चलेका छन् । किनकी, कोरोनाको त्रास मानिसहरुमा विगतको भन्दा बढी देखिन्छ । खोपको आविस्कारपछि संसार नै सहज हुने ठानिएको भएपनि अवस्थामा कुनै गुणात्मक परिवर्तन आएन ।

विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका संयुक्तराज्य अमेरिका, युरोप समेतका मुलुकको आर्थिक वृद्धि सन् २०२१ मा ५.२ प्रतिशत रहेको थियो भने उदीयमान अर्थतन्त्र रहेका चीन, भारत, आसियान मुलुकहरु, रसिया, ब्राजिल समेतका मुलुकको आर्थिक वृद्धि यस वर्ष ६.४ प्रतिशत रहेको विवरण प्रकाशित भएको छ । तर, पूर्ण विवरण आउँदा यो तथ्यांकमा आकाश जमिनको फरक पनि देखिन सक्छ ।

सोही विवरणसँग जोडिएर आएको अल्पविकसित र विकासोन्मुख देशको अर्थातन्त्र भने चिन्ताजनक नै देखिएको छ । खासमा न्यून आय भएका विकासशील मुलुकको अर्थतन्त्र ३ प्रतिशतले हाराहारीमा मात्रै वृद्धि भए । जुन, सामान्य अवस्थामा फर्कदा समेत त्यस्तो वृद्धिले कुनै प्रभाव पार्न सक्दैन ।

सन् २०२२ मा पनि ठूला अर्थतन्त्र भएका मुलुकको हिस्सा बढी नै देखिने छ । किनकी, उनीहरुसँग स्रोत तथा साधन सबै उपलब्ध भएपनि आत्मविश्वासको अभाव देखिएको छ । मुद्रा कोषका अनुसार न्यून आय भएका मुलुकको अर्थतन्त्रमा केही सुधार भई ५.३ प्रतिशत पुग्ने अनुमान गरिएपनि अवस्था सहज नहुने विवरणमा समेटिएको छ । कोरोनाका कारण सिर्जित समस्याले यी मुलुकमा थपव अनिश्चितता बढाइदिएको छ ।

सन् २०२२ मा छिमेकी मुलुक चीनको आर्थिक वृद्धिदर ५.६ प्रतिशत हुनेछ भने भारतको वृद्धिदर ८.५ प्रतिशत हुने कोषले प्रक्षेपण गरेको छ । तर, चीनले भने कोषको उक्त प्रषेपण भन्दा आफूहरुको थप वृद्धि हुने आत्मविश्वासाी तथ्यांक सार्वजनिक गरेको छ ।

विश्व अर्थतन्त्रको पुनरुद्धारको गति निरन्तर भए पनि आर्थिक वृद्धि सोचेजस्तो गतिमा नहुने र अनिश्चितता कायमै रहने तथ्यहरुले पुष्टि गरेको छ । सन् २०१९ को डिसेम्बरको अन्तिम सातातिरको जस्तै अवस्था यसबेला पनि देखिएको छ ।
खासगरी कोरोनाभाइरसका नयाँ नयाँ भेरिएन्टका कारण विभिन्न मुलुकले लगाएका प्रतिबन्ध कायमै रहँदा आर्थिक विकासमा अनिश्चितता र आशंका बढाइरहेको छ । जुन आशंका हाउन सम्बन्धित देशले अझै धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

कोरोनाभाइरस विरुद्धको खोपको विश्वव्यापी पहुँच र आर्थिक नीतिहरुमा गर्नुपर्ने गुणात्मक सुधारको बलमा मात्रै अर्थतन्त्रलाई थप गतिशील र चलायमान बनाउन सकिने भएपनि अवस्था परिपक्व बनीसकेको छैन ।

कोरोनाको खोपको वितरणमा विकसित र गरिब राष्ट्रबीच व्यापक असमानता छ । सोही कारणले आर्थिक वृद्धि र विकासमा पनि असमानता स्वतः नै देखा पर्नेछ । त्यो असमानता अझै फराकिलो हुने विश्व बैंक र मुद्रा कोषको विवरणहरुमा उल्लेख गरिएका छन् ।

खोप वितरणको असमानताले बेरोजगारी र आर्थिक असमानता अरु बढ्ने र विश्वका करोडौं मानिस पुनः गरिबीको दुश्चक्रमा पर्ने तथ्यहरु सार्वजनिक भएका छन् ।
त्यस्तै, उपभोग्य सामानको विश्वभर नै मूल्यवृद्धि भएको छ, र यो क्रम सन् २०२२ मा अझै बढी देखिनेछ । यस्तै मूल्यवृद्धि पनि सोचेभन्दा बढी हुनेछ ।

यूरोसियाको बाघ मानिएको टर्कीको अर्थतन्त्र संकटको डिलमा पुग्नुको पछाडि सोही कारण हो भन्ने टिप्पणी पनि यसबीचमा आएका छन् । सन् २०२१ को विदाई हुँदै गर्दा टर्कीको रोटी पसलहरु अगाडि मानिसको लाइन लाग्न शुरु गरेका थिए ।

उदीयमान अर्थबजार भएका मुलुकमा वस्तुको मूल्यमाथि चाप पर्नेछ किनभने खाद्यान्नको चर्को मूल्य, इन्धनको मूल्यवृद्धि र मुद्रा विनिमयमा परेको चापका कारण आयातित वस्तुको मूल्य बढेको छ । त्यसबाट कमजोर अर्थतन्त्र भएका देशहरु सबैभन्दा बढी मारमा पर्ने निश्चितप्राय नै छ ।

विश्व बैंककी पूर्व वरिष्ठ उपाध्यक्ष अना पालासिओको विचारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले संकटको हालको अवस्थामा आर्थिक वृद्धि तथा पूर्ववत् अवस्थामा ल्याउने काम ज्यादै असमान ढंगबाट अगाडि बढिरहेको छ ।

कोभिड खोपको सफल उत्पादन र प्रयोगलाई तिब्रता दिएका विकसित मुलुकमा आर्थिक पुनरुद्धारको कार्यमा तिब्रता आएको छ । विकसित मुलुकमा खोपको उपलब्धता व्यापक छ, र उनीहरु बुस्टर डोजका नाममा तेस्रो, चौथो मात्रा खोप लगाइरहेका छन् ।

आर्थिक रुपमा कमजोर मुलुकहरुमा अधिकांश जनताले एक डोज खोप पनि लगाउन पाएका छैनन् । अहिले आपूर्ति प्रणालीमा आएको गडबडी र इन्धनको मूल्य वृद्धिसँगै यात्रा प्रतिबन्ध र लकडाउनको नयाँ चक्रले विपरीत परिस्थिति खडा गरिरहेको छ । साथै, बढ्दो वित्तीय जोखिम र मुद्रास्फितीको दबाबका बीच नीति निर्माताहरु र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुमाथि सन्तुलनको नाजुक स्थिति सामना गर्नुपर्ने चुनौती आइपरेको छ ।

कोभिडका कारण सिर्जित आर्थिकमन्दीकै अवस्थामा पनि चीनले आफूलाई विश्व अर्थतन्त्रसँग परिपक्व ढंगबाट जोड्न महत्वाकांक्षी बिआरआई परियोजना अघि बढाइरहेको छ । छिमेकी मुलुकहरु लाओस, भियतनाम समेतका पूर्वी एशियाली मुलुकसँग उच्च गतिको रेलसेवा विस्तार गरिरहेको छ भने पश्चिम एशियातर्फका रेल परियोजना पनि तीब्र गतिमा अघि बढेका समाचार आइरहेका छन् ।

अफ्रिकी र दक्षिण अमेरिकी मुलुकहरुमा पनि चीनले लगानी बढाउनुका साथै कोभिडविरुद्धको खोप व्यापक स्तरमा उपलब्ध गराएर कुटनीतिक तहमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ । तर, अन्य देशहरुको अवस्थामा भने सुधार देखिन अझै लामो समय लाग्ने देखिन्छ । त्यसका लागि ठूलाहरुले खास अर्थमा सहयोग र सद्भाव बढाउनु जरुरी छ ।

प्रतिक्रिया