बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष २३ गते १०:२०
काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित पानीपिया जंगलमा दुर्घटनामा परी गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका ७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा ५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प २१९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १०२००१ ख ८१९६ नंको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनीहरूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
सवारीसाधन र बसचालक इटहरी ४ का ४४ वर्षीय टीकाराम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।
सम्बन्धित
प्रतिक्रिया