सोमबार, पुष ७, २०८२

बढी बिजुली खपत गर्ने उद्योग स्थापना गरे सरकारको सहयोग

मेरोन्यूज २०७८ पुष २६ गते १९:४०

काठमाडौँ । सरकारले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ । स्वदेशी बिजुलीको खपत स्वदेशमा नै गर्नु पर्छ भन्ने ध्येयका साथ सरकारले उद्योगी तथा व्यवसायीलाई त्यस्तो आग्रह गरेको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भनिन्, “हामीले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई विशेष आह्वान गर्दै आएका छौँ । सरकार थप सहजीकरणका लागि तयार छ ।”

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल पावर एक्सचेञ्ज लिमिटेडको सहकार्यमा आयोजित नेपाल पावर मार्केट समिट २०२२ लाई सम्बोधन गर्दै उनले बिजुलीको खपत बढाउने विषय नै अहिलेको प्रमुख आवश्यकता रहेको बताएकी हुन् ।

सरकारको पहिलो प्राथमिकता विद्युत् खपतलाई वृद्धि गर्दै लैजानेमा नै रहेको उल्लेख गर्दै उनले त्यसका लागि विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिएको जानकारी दिइन् ।

अहिले निजी क्षेत्रबाट सञ्चालित उद्योगले मागेअनुसार विद्युत् उपलब्ध गराउँदै आएको विवरण पेश गर्दै ऊर्जामन्त्रीले बिजुलीलाई कच्चा पदार्थको वस्तुका रूपमा लिएर त्यसलाई बढावा दिनु पर्नेमा जोड दिइन् ।

प्रतिक्रिया