प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने

काठमाडौ । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा वुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताएका हुन ।
‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ, मन्त्री साहले भने, – प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।
प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने उनले वताए ।
शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरुप कम्बल वितरणको कार्यक्रम सुरु गरेको बताउँदै सञ्चारमन्त्री साहले चिसो र शीतलहरबाट नागरिकको ज्यान जोगाउन सरकारले आवश्यक तयारी गरिरहेको समेत बताए ।
सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता परमेश्वर साहले जाडोबाट प्रभावित विपन्न नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएकाले तीनै तहको सरकार तत्काल यसप्रति गम्भीर हुनुपर्ने बताए ।
प्रतिक्रिया