शनिबार, पुष ५, २०८२

रिक्सा चालकको हत्या गर्ने पाँच जना पक्राउ

मेरोन्यूज २०७८ पुष ३० गते ७:३१

काठमाडौँ । गत पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका २३ इटियाही चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालकको हत्या भएको खुलेको छ । भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज ३ छप्कैया बस्दै आएका मियाँको हत्या भएको अनुसन्धान पश्चात खुल्न आएको हो । आपसी झगडा हुँदा फलामको रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरिएको प्रहरीले जनाएको छ ।

मियाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहारको पूर्वी चम्पारण, मोतीहारी ६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका ५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसैन र छप्कैया बस्ने बाबर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अनुसन्धानका क्रममा मियाँको हत्या भएको खुल्न आएको र हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको बताए । मृतक मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए ।

उनीहरुबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने भनी धम्की दिएका थिए । मण्डलले सुनिललाई भेटी मियाँको हत्या गर्न ५० हजार दिएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।

मियाँको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिए पनि एक जना भारतीय नागरिक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया