मंगलबार, पुष ८, २०८२

राप्रपामा कहल उत्कर्षमा

सामानान्तर संगठन बनाउने कमल थापाको अभियान स्थगन

मेरोन्यूज २०७८ माघ ४ गते १३:४१

काठमाडौँ । संसदमा रहेका ठूला दल आन्तरिक कहलमा रुमलिइरहेका बेला अस्तित्वको पर्खाइमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र पनि आन्तरिक कलह उत्कर्षमा पुगेको छ । आफू बाहिर बस्ने तर पार्टी नफूटाउने उद्घोष गर्दै आएका पूर्व अध्यक्ष कमल थापाले पार्टीभित्र समानान्तर कमिटी बनाउने प्रयास गरेपछि आन्तरिक कहल उत्कर्षमा पुगेको हो ।

महाधिवेशन गरेको एक महिनापछि नै थापाले आफू निकट रहेका नेताहरुको छुट्टै बैठक गर्ने, परामर्श गर्ने र केन्द्रीय कमिटीको बैठकमा नजाने जस्तो नीति अख्तियार गर्दै आएका छन् । मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई हेर्ने विषयमा मतभेद देखिएको थियो ।

अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता सडक आन्दोलन गरेर भए पनि संवैधानिक राजतन्त्र स्थापनाको पक्षमा देखिए पनि थापा पक्षले भने त्यो विषय ओझेलमा रहेको बताउँदै आएका छन् । अहिले थापा राजतन्त्रको विपक्षमा देखिएको छ । उनले पार्टीहरूको आन्तरिक जीवनमा पूर्वराजाले नांगो हस्तक्षेप गरेर राजनीतिभन्दा माथि बस्न नसकेको आरोप लगाएका छन् ।

उपाध्यक्ष बुद्धिमान तामाङसहितका केही नेता अध्यक्ष र निवर्तमान अध्यक्ष दुवैको धारणा अतिवादी रहेको भन्दै राप्रपा हिन्दु राष्ट्रसहितको आलङ्कारिक राजतन्त्रको पक्षमा उभिनु पर्ने पक्षमा भए पनि थापा भने राजा आफैले महाधिवेशनमा हस्तक्षेप गरेका कारण राजतन्त्रको पक्षमा लागिरहनु पर्ने आवश्यकता नरहेको बताउन थालेका छन् । पुरानै अवस्थाको राजतन्त्र र राजतन्त्रबिनाको राप्रपा दुवै असम्भव रहेको भन्दै केही नेताहरु निर्वाचित अध्यक्ष लिङदेन र निवर्तमान अध्यक्ष थापालाई मिलाउन लागि परेका छन् ।

गत हप्ता निवर्तमान अध्यक्ष थापा पृथ्वीजयन्तीको अवसर पारेर पुस २७ गतेबाट पार्टी एकता र हिन्दु राष्ट्रका लागि अभियान सञ्चालनको तयारीमा थिए । तर उनी अभियान रोक्न बाध्य भएका छन् । तामाङ लगायतका नेताहरुले मध्यमार्गको भूमिका खेलिरहेका कारण उनले सो अभियान रोक्न बाध्य भएको स्रोतले जनाएको छ । तर थापाले कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएको भन्दै अभियान केही समय रोकिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘पुस २७ मा सुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेका कारणसमेत सो अभियान हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ,’ उनले भनेका छन् । उनले केही समयपछि अभियान शुरु गर्ने पनि जनाएका छन् ।

‘थापाले अभियान शुरु गर्ने भनेको एक प्रकारले समानान्तर संरचना नै तयार गर्ने हो यसमा शंका छैन’, थापा निकट रहेका एक नेताले भने । अभियानका विषयमा थापाले एक साताअघि राजधानीको तिलगंगामा निकट नेताहरूको भेला गरेका थिए ।

हिन्दु राष्ट्र, मुलुकको संस्कृति, परम्पराको संरक्षण र पार्टी एकताका लागि अभियान सञ्चालन गर्न लागेको बताएका थापाले आवश्यक परे नयाँ पार्टी खोल्ने संकेत गरेका थिए । ‘पार्टी खोल्ने विषयमा खास कुराकानी नभएपनि थापाले अभियानमा सहयोग गर्नुपर्छ भनेका छन् यसको अर्थ उनी नयाँ पार्टी वा समानान्तर संगठन निर्माणकै अभियान छौ भन्ने बुझियो’, सो भेलामा सहभागी एक नेताले भने ।

उनका अनुसार संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पक्षमा अभियान सञ्चालन गर्ने बताइएको थियो । पूर्वराजाले पेल्दै अघि बढे राजतन्त्र बोकेर हिँड्नु पर्छ भन्ने नभएको आशय पनि भेलामा थापाले राखेका थिए ।

भेलामा सहभागी केहीले थापाको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रजस्तै अर्को पार्टी बनाएर हिँड्न नसकिने धारणा राखेका थिए । पार्टीलाई एकताबद्ध बनाएर राप्रपालाई नै अघि बढाउनु पर्ने भन्दै उनीहरूले हिन्दु राष्ट्र र राजतन्त्रबाहिर गएर संगठन गर्ने र पार्टी बनाउने कुरामा पनि सहयोग गर्न नसकिने धारणा राखेका थिए ।

पहिलो भेलामा सहभागी नेताहरुबाट अलि अलि असहयोग हुने अवस्था देखिएपछि थापाले सो अभियान केही समयपछि सारेको हुन सक्ने आँकलन गरिएको छ । पार्टी एकता बलियो बनाउन थापाले सञ्चालन गर्ने अभियानलाई सहयोग गर्ने तर पार्टी विभाजन वा नयाँ पार्टी स्थापनाको पक्षमा उभिन नसक्ने धारणा अधिकांश सहभागीले राखेका थिए ।

प्रतिक्रिया