आइतबार, वैशाख १३, २०८३

बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून

मेरोन्यूज २०८३ वैशाख १३ गते १९:४७

काठमाडौँ। टोखा नगरपालिकाले सञ्चालन गरेको जन्मनासाथ पाँच हजार बच्चाको खातामा जम्मा गरिने कार्यक्रममा स्थानीयको सहभागिता न्यून देखिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रममा स्थानीयवासीको सहभागिता न्यून देखिएको हो ।

Advertisement
NiccNicc
बालबालिकाको जन्मेपछि नगरपालिकाले रु पाँच हजार ती बालबालिकाको नाममा खाता खोली राखिने कार्यक्रम कम जनचासो भएकाले सहभागिता पनि न्यून देखिएको सरोकार भएकाहरू बताउँछन् । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले स्थानीयमा आकर्षण नभएकोले थोरै मात्र बच्चाको बैंक खातामा रकम जम्मा भएको बताए । “हाम्रो उद्देश्यले बच्चा जन्मनासाथ उसलाई केही आर्थिक होस् भनेर रु पाँच हजार दिने भनेका थियौँ”,उनले भने, “तर त्यो कार्यक्रमअनुसार न्यून बच्चाको बैंक खाता खोलिएको छ ।”

उहाँका अनुसार अहिलेसम्म चार बालबालबालिकाको मात्र बैंक खाता खोली रु पाँच हजार जम्मा गरिएको छ । नगरपालिकामा वार्षिक एक हजार ७६६ बच्चा जन्मने प्रक्षेपण गरिएको शाखा प्रमुख कुलालले जानकारी दिनुभयो । उहाँका अनुसार बच्चालाई रु पाँच हजार उपलब्ध गराउनका लागि बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्ने र नगरपालिकाले तोकेको अस्पतालमा सुत्केरी गराउनुपर्ने व्यवस्था छ । 

“हामीले तोकेको अस्पतालमा नगई अन्यन्त्र गएर सुत्केरी गराएका हुनसक्दछन्”, उनले भने, “त्यसैले होला एक वर्ष हुन लाग्दा एकदम न्यून सङ्ख्यामा मात्र बच्चाको बैंक खाता खोलिएको छ ।” नगरपालिकाले टोखा चन्डेश्वर, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, वीर अस्पताललगायतमा सुत्केरी गराउनुपर्ने भनी तोकेको छ । 

कतिपयले तोकेकाबाहेक अस्पतालमा सुत्केरी गराउँदा आमाबाट जन्मेका बच्चाको खातामा रु पाँच हजार जम्मा गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुलालले बताए । 

प्रतिक्रिया