मंगलबार, पुष १५, २०८२

चन्दा उठाएर १८ किमी सडक निर्माण

मेरोन्यूज २०७८ माघ २३ गते ६:२६

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने वैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठूलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो ।

यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुविधा पुगेको छ । यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिबाङ–शिख–चित्रे हुँदै घोडेपानी सडक थियो । हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले एक करोडभन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेका जानकारी दिए ।

“महभिरदेखि घराम्दी–प्यारीभारानी हुँदै घोडेपानी जोड्ने छोटो दुरीको सडक पोखरेबगर भन्दा करिब तीस मिनेट छिटो पनि छ,” उनले भने “वैकल्पिक सडकबाट घोडेपानी आवत जावत हुन थालेको छ, धार्मिक पर्यटकीय स्थल प्यारीभारानीको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ ।”

घराम्दीबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैयाँ चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै ठूलाखर्क पुर्याइएको सडक गत वर्ष थप पाँच लाख खर्चेर प्याराभारानी ताल पुर्याइएको उनले जानकारी दिए ।

यसैगरी गाउँपालिकाको १२ लाख र प्रदेश सरकारको आठ लाख अनुदानमा टिकोटबाट मथेनी हुँदै ठुलाखर्क जोड्ने करिब पाँच किमी सडक निर्माण भएको छ । डिभिजन वन कार्यालयको २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने डेढ मिटर फराकिलो तीन÷तीन किमीको घोडा र साइकल मार्ग निर्माण गरिएको छ ।

घराम्दीका तिर्थबहादुर फगामीले सडक यातायातको सुविधासँगै पर्यटकीय महत्वको पेरी भरानी तालमा भक्तजन र पर्यटकको आगमन बढेको बताए । “जनैपूर्णिमा पर्वमा यहाँ पुजाआजा गरेमा मनोकाक्षा पूरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ,” उनले भने “करिब दुई सय मिटर लम्बाई र एक सय मिटर चौडाईमा गोलो आकारमा फैलिएको ताल आकर्षक र मनमोहक छ ।”

गुराँसको जंगलको बीचमा रहेको ताल परिसरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी रेञ्चका हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया