शनिबार, चैत ७, २०८२

औषधिका रूपमा प्रयोग हुने चिलिमेको तातोपानी मूल सुक्यो

मेरोन्यूज २०७८ माघ २८ गते ८:०४

काठमाडौँ । उत्तरी रसुवाको चिलिमेस्थित गोंगाङमाथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने आधारविहीन भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

विसं २०७२ को भूकम्पसँगै विलय भएको तातोपानीको मूल पाँच वर्षपछि गत भदौमा यथास्थानमै फर्किए पनि सुक्खायामसँगै केही दिन अगाडि उक्त मूल पुनः सुकेको स्थानीय बासिन्दाले बताएका छन् । परम्परागत रूपमा नुहाउँदै आएको तातोपानी मूल सुकेसँगै तातोपानी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दामाझ चिन्ता छाएको छ ।

पर्यटकीय क्षेत्रको तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने उक्त तातोपानीको मूल सुकेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणसमेत घटेको छ । विशेषगरी प्रत्येक वर्ष कात्तिक र चैतमा नुहाउँदा शारीरिक रोग हट्ने मान्यता रहिआएको थियो । पानी पुनः फर्किएयता करिब १० हजार मानिसले नुहाइसकेका थिए ।

तातोपानीलाई व्यवस्थित रूपले उपयोग गर्न तत्कालीन समयमा कार्यरत ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआर पिएपी)मार्फत निर्माण भएका आकर्षक ढुङ्गेधारा तथा पोखरी अलपत्र परेका छन् । प्राकृतिक स्रोतका अधिकतम् उपयोग गराइ तातोपानी क्षेत्रका विपन्न व्यक्तिलाई उत्थान गर्न विसं २०५७ मै पूर्वाधार निर्माण भएको र यस्ता सामाजिक कार्यमा पर्यटन विज्ञ रामचन्द्र सेढाईँको अविस्मरणीय योगदान रहेको स्थानीय बासिन्दाले स्मरण गरे ।

एक जना मानिसले कम्तीमा तीन दिन नुहाउने तथा पोखरीमा डुब्ने चलन र संस्थागत रूपमा पोखरी तथा धाराको व्यवस्थापनले मानिसको चाप ह्वात्तै बढ्न थालेको अवस्थामा तातोपानीको मूल भूकम्पकै असरले सुक्ने भएको थियो । मानिसको चापलाई दृष्टिगत गरी बनाइएका दर्जनौँ निजी होटलसमेत खाली हुँदै गएका छन् ।

भूकम्पअगाडिको समयमा तातोपानी नुहाउन वार्षिकरूपमा २० हजारभन्दा बढी मानिस त्यस स्थानमा पुग्ने गरेको स्थानीय व्यवसायी किमो तामाङ्नीले बताइन् । अधिकांश समय चिसो रहने उक्त क्षेत्रमा दैनिक सयौँ स्थानीयवासीलाई समेत नुहाउन सहज हुँदै आएको थियो । विगतका समयमा रसुवाका अलावा नुवाकोट, धादिङ एवं मित्रराष्ट्र चीनको भू–भागमा बसोबास गर्ने सीमापारका छिमेकीसमेत आउने गरेका थिए ।

प्रतिक्रिया