सोमबार, चैत ९, २०८२

दर्लिङमा बस पुगेपछि हेर्न स्थानीयवासीको भीड

मेरोन्यूज २०७८ फागुन ६ गते १०:४१

काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका ३ दर्लिङमा पहिलोपटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु १ ख ५७९७ नंको बस गाउँपालिका १ नेटा र वडा नं २ ह्वाङ्दी हुँदै बिहीबार दर्लिङ पुगेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

मालिकाका तीनवटै वडामा पहिलोपटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रम स्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको भीड लागेको थियो । साथै स्थानीयवासीले बाजागाजासहित बसलाई स्वागत गरेका थिए । पूर्वमन्त्री एवं सोही क्षेत्रका सांसद गोकर्ण विष्टले बसको उद्घाटन गरेका थिए ।

दर्लिङ ३ का ६८ वर्षीय पतिराम खड्कालाई आफ्नै घरअगाडि बस देख्न पाइन्छ भन्ने कल्पनासम्म थिएन । बुटबल, पाल्पा, तम्घास हुँदै हिँडेरै नुन, तेललगायतका सामग्री बोकेका उनले बिहीबार आफ्नै गाउँमा बस देख्न पाएका हुन् । ‘गाउँमा बस त के, बाटोसम्म हुन्छ भन्ने पनि सोचेका थिएनौँ,’ खड्काले भने, ‘आज बस नै आउँदा सपनाजस्तो लागेको छ ।’

गाउँमा यातायातको सुविधा नहुँदा धेरै दिन लगाएर तम्घास वा आवश्यक गन्तव्यमा पुग्ने गरेको उनले सम्झिए । दर्लिङमा १५ वर्षअघि खनेको सडकमा सुरुमा ट्र्याक्टर मात्रै गुड्थे । त्यसपछि जीप सञ्चालन हुन थाल्यो र अहिले बस नै गाउँमा पुग्दा आफू खुसी भएको उनले बताए ।

सोही स्थानकै ७१ वर्षीय नर्मती घर्तीले पनि गाउँमा बस पुग्दा खुसी लागेको बताए । बस आएसँगै जीपको भन्दा भाडा पनि सस्तो हुने उनले अपेक्षा गरे । “गाउँमा आए पनि घरमै आएजस्तै लागेको छ, जीपमा हिँड्दा रु दुई हजारसम्म खर्च हुन्थ्यो”, उनले भने, “बसमा अब भाडा पनि सस्तो होला ।” आफू बस हेर्नका लागि कार्यक्रम स्थलमा आएको उनले सुनाए ।

प्रतिक्रिया