आइतबार, पुष १३, २०८२

अर्थतन्त्र संकट उन्मुख हुँदै गएको भन्दै अर्थविदहरु चिन्तित

मेरोन्यूज २०७८ फागुन ११ गते २१:३८

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटउन्मुख हुँदै गएको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘संकटउन्मुख अर्थतन्त्रको सुधार र दिगो पुनरुत्थान’ विषयमा अन्तक्र्रिया कार्यक्रममा अर्थविद् तथा सरोकारवालाहरुले अर्थतन्त्रका सबै सूचकहरु ऋकारात्मक देखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

बैंकर्स तथा अर्थतन्त्रका जानकारहरुले सरकारको काम गर्ने संयन्त्र र अस्थिर नीतिको कारण मुलुकमा व्यापार घाटा बढ्दै गएको, रेमिटेन्समा निरन्तर कमी आएको र बजारमा चरम तरलता अभाव भएको दावी गरेका छन् ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा. अच्युत वाग्लेले पछिल्लो समय बैंकहरु आफै सिर्जनशिल हुन सकेको बताए । उनले बैंकहरुले पछिल्लो समय थोरै लगानी गर्न समेत सक्ने अवस्थामा नभएको बताए ।

डा.वाग्लले बैंकहरु विदेशी बैंकसँग शेयरमा काम गर्ने तर विदेशबाट पैसा भने ल्याउन नसकेको बताए । डा. वाग्लेले बैंकिङ प्रणालीबाट अत्यधिक मात्रामा कर्जा प्रवाह हुँदा बजारमा तरलता अभाव भएको जिकिर गरे ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक अस्थिरताको कारण अर्थतन्त्रमा समस्या आएको बताए ।

उहाँले राजनीतिक अस्थिरताको कारण औपचारिक भन्दा अनौपचारिक क्षेत्रमा अर्थतन्त्र चलायमान भएको बताए ।

अहिले उपभोग खर्च बढेर १ खर्बबाट अहिले ७ खर्ब पुगिसकेको क्षेत्रीले बताए ।

पूर्वगभर्नर क्षेत्रीले राष्ट्रिय गौरवका आयोजनामा हुने खर्च बढाउनु पर्ने बताए । क्षेत्रीले राष्ट्र बैंकले आयातमा अहिले गरिएको कडाईले व्यापारघाटा कम गर्न सहयोग नपुग्ने बताए ।

अर्थविद् पोषराज पाण्डेले बैंकिङ प्रणालीमा तरलता अभाव हुनुका पछाडि नेपाल राष्ट्र बैंक जिम्मेवार रहेको दावी गरे ।

उनले राष्ट्र बैंककै कारण पछिल्लो समय बैंकिङ प्रणालीमा कर्जा प्रवाह अत्यधिक भएर बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेको आरोप लगाए ।

पाण्डेले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा कर्जा प्रवाह १९ प्रतिशतमा सीमित गर्ने भनि पनि पछिल्लो ७ महिनमा २७ प्रतिशत पुग्दा समेत राष्ट्र बंैक चुप लागेर बसेको बताए ।

राष्ट्र बैंक आफैले मौद्रिक नीति मार्फत २ प्रतिशत ब्याजदर बढाएकाले अब असारसम्म १ प्रतिशत बढेर ३ प्रतिशतले बढ्ने बताए ।

त्यस्तै, अर्थशास्त्री डा. गोविन्द नेपालले ठूलो आर्थिक संकट आउन सक्ने भन्दै सबैले आत्मासमिक्षा गर्नुपर्ने बताए ।

उनले आत्मा समिक्षा नगरे अर्थतन्त्रमा ठूलै संकट आउन सक्ने भएकाले सतर्क हुन आवश्यक रहेको बताए ।

त्यस्तै, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले तरलता समस्या समाधान नभए चालु आर्थिक वर्षको असारमा कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने दावी गरेका छन् ।

त्यस्तै, रेमिटेन्स एशोसिएशनका पूर्वअध्यक्ष सुमन पोखरेलले दुबईबाट आइफोन, ल्यापटप र सुन आयात रोक्नुपर्ने बताए ।

बैकर्स जानकार पशुराम कँुवर क्षेत्रीले मुलुकमा अर्थतन्तको संकट बढ्दै गए अब नेपालमा औषधी किन्न पनि नसक्ने अवस्था आउने बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बजारमा तरलताको समस्या केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले पुँजीगत खर्च कम गरेकाले भएको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले ७५३ वटै स्थानीय तहमा बैंक पुगेकाले विदेशमा जाने श्रमिकले बैंक खाता खोल्न लगाएर रेमिटेन्स बैकमार्फत् ल्याउन सकिने उल्ल्ेख गरे ।

प्रतिक्रिया