श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता

श्रीलङ्काको दक्षिणी समुद्री तट नजिक एक इरानी युद्धपोत डुब्दा झण्डै १५० जना बेपत्ता भएका छन् भने केहीको मृत्यु भएको आशङ्का गरिएको छ । अधिकारीहरूका अनुसार बुधबार बिहान जहाजमा भएको सम्भावित विस्फोटपछि उक्त दुर्घटना भएको हो, तर यसको कारण अझै स्पष्ट हुन सकेको छैन । श्रीलङ्काली नौसेनाले ‘आईआरआईएस डेना’ नामक युद्धपोतबाट ३२ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।
तर बाँकी १४८ जना अझै बेपत्ता रहेका छन् । उद्धार गरिएका घाइतेहरूलाई गालेस्थित मुख्य अस्पतालमा भर्ना गरिएको छ । विदेशमन्त्री विजिथा हेराथका अनुसार युद्धपोतले बुधबार बिहानै आपतकालीन सन्देश पठाएको थियो । त्यसको एक घण्टाभित्रै गाले बन्दरगाहबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको घटनास्थलमा उद्धार टोली पुगेको थियो । तर टोली पुग्दा जहाज पूर्ण रूपमा डुबिसकेको थियो र समुद्रको सतहमा तेलको तह मात्र देखिएको थियो ।
नौसेनाका प्रवक्ता बुद्धिका सम्पथले श्रीलङ्काले आफ्नो अन्तर्राष्ट्रिय समुद्री दायित्वअनुसार खोज तथा उद्धार कार्य अघि बढाएको बताउनुभएको छ । उहाँका अनुसार जहाज डुबेको क्षेत्र श्रीलङ्काको खोज तथा उद्धार क्षेत्रभित्र पर्छ । खोजी कार्यका क्रममा केही शव फेला परेको जानकारी पनि दिइएको छ । गालेस्थित करापिटिया शिक्षण अस्पतालका निर्देशकले हालसम्म ३२ जना घाइते मात्र अस्पताल ल्याइएको पुष्टि गरेका छन् । मृतकको सङ्ख्या भने आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।
उक्त युद्धपोत भारतको विशाखापट्टनम बन्दरगाहमा सम्पन्न सैन्य अभ्यासमा सहभागी भएर फर्किरहेको बताइएको छ । यसैबीच मध्यपूर्व क्षेत्रमा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव चर्किएको अवस्थामा यो घटना भएको हो । संसदमा एक विपक्षी सांसदले जहाजमाथि आक्रमण भएको हो कि भन्ने प्रश्न उठाए पनि सरकारले तत्काल त्यसबारे प्रतिक्रिया दिएको छैन ।
कोलम्बोस्थित इरानी राजदूतले पनि हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । श्रीलङ्काले मध्यपूर्वको द्वन्द्वप्रति तटस्थ नीति अपनाउँदै वार्तामार्फत समाधान खोज्न आग्रह गर्दै आएको छ । देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने झण्डै १० लाखभन्दा बढी श्रीलङ्काली नागरिक मध्यपूर्वमा रोजगारीमा कार्यरत छन् । घटनापछि गाले अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । साथै, श्रीलङ्काली नौसेना र वायुसेनाले उद्धार कार्यका दृश्य सार्वजनिक नगर्ने जनाएको छ, किनकि यो अर्को देशको सैन्य जहाजसँग सम्बन्धित विषय हो ।


















टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु
अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
प्रतिक्रिया