आइतबार, वैशाख २७, २०८३

एमसीसीमा झलनाथ खनालले गरे पार्टीको ह्विप उलङ्घन

मेरोन्यूज २०७८ फागुन १७ गते ७:१२

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस)पार्टीका सम्मानित नेता झलनाथ खनालले संसदमा एमसीसी पास गराउने प्रकृयालाई बहिष्कार गरेको खुलेको छ । पक्ष विपक्षको प्रकृया शुरु हुनुअगावै खनालले संसदबाट बाहिर निस्किएर बहिष्कार गरेका हुन् ।

Advertisement
NiccNicc

नेकपा एसको संसदीय दलले एमसीसी सम्झौतालाई व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नु पर्ने भन्दै सांसदहरुलाई ह्वीप लगाएको भए पनि सम्मानित नेताले बहिष्कार गरेर ह्विप उल्लंघन गरेका थिए । खनालसँगै केही सांसदहरुले पनि बहिष्कार गर्ने बताएको भए पनि पार्टी अध्यक्ष माधव नेपालको डरले सबैले पक्षमा मत हालेको नेकपा एसका एक केन्द्रीय सदस्यले बताए ।

उनका अनुसार अब केही समयपछि अहिले भएका मन्त्रीलाई फिर्ता बोलाएर केही नेतालाई सरकारमा पठाउने तयारी भइरहेका बेला उनीहरुले खुरुखुरु पार्टीको ह्वीप मानेका थिए । तर, खनालले भने पार्टीको सचिवालय बैठक, स्थायी कमिटीको बैठक तथा संसदीय दलको बैठकमा पनि एमसीसीका केही बुँदाहरु संशोधन गरेर मात्रै पास गर्नु पर्छ भन्दै असहमति राखेका थिए ।

‘उहाँले सचिवालय बैठकमा नोट अफ डिसेण्ट लेख्नु भएको थियो, संसद बैठक पनि बहिष्कार गर्नुभएको जानकारी छ’, एस पार्टीका एक केन्द्रीय सदस्यले भने ।पार्टीले एमसीसीलाई व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णय गरे पनि सम्मानित नेता खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई १३ बुँदे ‘एमसीसीबारे गम्भीर महत्वको प्रस्ताव’ पेस गरेका थिए । उनले उक्त प्रस्तावलाई नै ‘नोट अफ डिसेन्ट’ भनेका थिए ।

नेकपा एक हुँदा गठन गरिएको एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका नेता खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै अध्यक्ष नेपाललाई १३ बुँदे प्रस्ताव पेस गरेर आफ्नो असहमति प्रकट गरेपछि उनी संसदबाट बाहिर निस्केका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले १३ बुँदामार्फत एमसीसी अनुमोदन गरे हुने सक्ने सम्भावित दुर्घटनाबारे सविस्तार व्याख्या गर्दै अनेक प्रश्न उठाएका थिए ।

नेता खनालले उक्त प्रस्तावमार्फत एमसीसी अनुमोदन गर्न नहुने र अनुमोदन गरिए आफ्नो ‘नोट अफ डिसेन्ट’लाई पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बाहिर ल्याएका थिए ।

माओवादी केन्द्रले सम्झौतामा उठेका कतिपय प्रश्नलाई संसदबाटै १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णयमा पुग्दा माओवादीकै ७ सांसद विपक्षमा उभिएका थिए । व्याख्यात्मक घोषणामा ‘एमसीसीको विकास परियोजनामा सहकार्य गरे पनि अमेरिकाको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा नेपाल आबद्ध नभएको’ घोषणा गरिएको थियो । तर पनि माओवादी केन्द्रका ७ सांसदले त्यसलाई विश्वास गर्न नसकेपछि सात सांसदले पार्टी निर्णयविरुद्ध उभिएका थिए ।

यसैगरी एमालेले संसद अवरोध गरेको भए पनि एमालेकै सांसद भीम रावल र झपट रावलले एमसीसीको विपक्षमा हात उठाएका थिए । विपक्षमा हात उठाउनेमा माओवादीका सांसदहरु गिरिरजामणी पोखरेल र अञ्जना विसंखे रहेका थिए ।

प्रतिक्रिया