सोमबार, वैशाख २८, २०८३

कांग्रेस पदाधिकारी अनौपचारिक छलफलमा : भ्रातृ संस्थामा तदर्थ समिति बनाउने तयारी

तदर्थ समितिलाई तीनै तहको चुनाव सकेको ३ महिनाभित्र महाधिवेशन गराउनुपर्ने म्याण्डेट दिइने गरी तयारी

मेरोन्यूज २०७८ फागुन १८ गते ९:२९

Advertisement
NiccNicc

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको पदाधिकारीहरु अनौपचारिक छलफलमा बस्दैछन् । दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरवहादुर देउवा वाहेकका अन्य पदाधिकारीहरु अनौपचारिक छलफलमा बस्न लागेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

अनौपचारिक छलफलमा पार्टी पदाधिकारीहरुले पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर एउटा निश्कर्षमा पुग्ने तयारी गरेका छन् । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ लगायतका १० भ्रातृ संस्थाको महाधिवेशन गर्न फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुलाई जिम्मेवारी दिएका थिए ।

जसअनुसार कांग्रेसका केही पदाधिकारीहरु भ्रातृ संस्थाहरुको तदर्थ समिति गठनको काममा अनौपचारीक ढंगले सक्रिय थिए । उनीहरुले गरेको तयारी र अव तदर्थ समिति गठनका विषयमा आजको पदाधिकारीहरुको अनौपचारिक छलफलमा कुराकानी हुने बताईएको छ ।

गत फागुन ३ गते कांग्रेसले म्याद सकिएका १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको थियो । त्यसरी केन्द्रीय समिति भंग गरिएका कमिटिमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघ रहेका छन् ।

फागुन मसान्तभित्र ती सबै भ्रातृ संस्थामा कांग्रेसले तदर्थ समिति बनाउनेछ ।

नयाँ बन्ने समितिले तीनै तहको निर्वाचन सम्पन्न भएको मितिले ३ महिनाभित्र महाधिवेशन गराउनुपर्ने म्याण्डेट दिइने गरी तयारी भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

प्रतिक्रिया