आइतबार, वैशाख २७, २०८३

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी

मेरोन्यूज २०८३ वैशाख २७ गते २०:५३

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताएका छन्। शनिबार मस्कोमा भएको सैन्य प्रदर्शनमा नेता पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको ‘आक्रामक शक्ति’ सँग लडिरहेको बताएका थिए ।

Advertisement
NiccNicc

उनले आफ्नो युद्ध लक्ष्यलाई ‘न्यायपूर्ण’ कदमका रूपमा उल्लेख गरे । रुसी नेताले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत सङ्घको विजयको सम्झनालाई आफ्नो २५ वर्षे शासनको ‘केन्द्रीय कथा’ बनाएका छन् र आफ्नो युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न बारम्बार यसको प्रयोग गरेका छन्।

रूसी अधिकारीहरूले सामान्यतया विजय दिवस प्रदर्शनलाई धूमधाम र भव्यताका साथ मनाउँछन्। हालैका हप्ताहरूमा युक्रेनी लामो दूरीका आक्रमणहरूको एक श्रृङ्खलाले क्रेमलिनलाई सुरक्षा उपायहरू बढाउन र यस वर्षको उत्सवलाई कम गर्न प्रेरित गरेको पाइएको छ।

सैन्य प्रदर्शन समारोहपछि युक्रेनका लागि पश्चिमा सैन्य सहायतामा कमी आएको छ कि छैन भनेर सोधिएको प्रश्नमा पुटिनले भने, “उनीहरूले रूससँगको टकरावलाई बढावा दिन थाले, जुन आजसम्म जारी छ।”

उनले भने, “मलाई लाग्छ कि यो द्वन्द्व समाप्त हुँदैछ तर यो अझै पनि गम्भीर विषय हो।” उनले अगाडी भने, “उनीहरूले रुसको ठूलो हार र रूस पतनको प्रतीक्षामा महिनौँ बिताए। यसले काम गरेन।”

पुटिनले पश्चिमी देशहरूलाई सङ्केत गर्दै भन्नुभयो, “युक्रेनलाई सहयोग गर्ने बहानामा उनीहरूले रूसविरूद्धको जनमत सिर्जना गर्ने प्रयास गरे तर उनीहरू अफ्ठेरोमा गएर फसेका छन् । अब उनीहरू यसबाट बाहिर निस्कन सक्दैनन्।”

पुटिनले सम्भावित शान्ति सम्झौताका लागि सबै सर्तहरू टुङ्गो लागेपछि मात्र तेस्रो देशमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न आफू तयार रहेको बताए। उनले भने, “यो सहमतिको अन्तिम बिन्दु हुनुपर्छ, वार्ता आफैँमा होइन।”

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत शुक्रबार रुस र युक्रेनबीच शनिबारदेखि तीन दिने युद्धविराम लागू हुने घोषणा गरेका थिए । मस्को र किएभले एक अर्कामाथि युद्धविरामका सर्त उल्लङ्घनको आरोप लगाएका छन्, तर कुनै ठूलो आक्रमणको रिपोर्ट गरिएको छैन । यद्यपि, यो अवधिमा पनि छिटफुट ड्रोन गतिविधि जारी छन् र दुबै पक्षका नागरिक हताहत भएका खबरहरू आएका छन् ।

“आशा छ, यो निकै लामो, घातक र कडा सङ्घर्षपूर्ण युद्धको अन्त्यको सुरुवात हो,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा पोस्ट गरेको एक सन्देशमा भनिएको छ। क्रेमलिनले युद्धविरामलाई लम्ब्याउने कुनै योजना नरहेको जनाएको छ ।

प्रतिक्रिया