आइतबार, वैशाख २७, २०८३

परराष्ट्रमन्त्रीको ब्रिफिङ्

नेपालमा अकस्मात कसको हुँदैछ, भीआईपी सवार ?

मेरोन्यूज २०७८ फागुन २३ गते २१:०२
फाइल तस्विर

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन् ।

Advertisement
NiccNicc

परराष्ट्रमन्त्री खड्काले सोमबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने जानकारी दिएका हुन् ।

तर भ्रमण कसको हुने भन्ने कुरा चाँही समय आएपछि मात्रै जानकारी गराउने उनको भनाई थियो । मन्त्री खड्काले खास समय आएपछि सो उच्चस्तरीय भ्रमणबारे पत्रकारहरुलाई आफूले जानकारी गराउने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री देउवा श्रीलंका जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो पटक औपचारिक विदेश भ्रमणमा श्रीलंका जाने भएका छन् ।

प्रधानमन्त्री भएपछि कुनै पनि देशको औपचारिक भ्रमणमा जान नपाएका देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनमा सहभागी हुन उनी चैत १६ गते श्रीलंका जाने भएका हुन् ।

देउवाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल श्रीलंकामा मार्च ३० तारिखमा आयोजित बिमस्टेक सम्मेलनमा सहभागी हुन जाने परराष्ट्रमन्त्री डा. खड्काले जानकारी दिए । उक्त प्रतिनिधिमण्डलमा मन्त्री खड्का पनि सहभागी हुनेछन् ।

बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन् ।

यसअघि जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमनत्री देउवा बेलायत पुगेका थिए । त्यसलगत्तै भारत भ्रमण जाने तयारी हुँदै गर्दा कोभिडका कारण अन्तिम समयमा कार्यक्रम स्थगित भयो ।

असार अन्तिम साता अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका देउवा औपचारिक भ्रमणमा विदेश भ्रमण जान पाएका छैनन् ।

चीनसँगको नाका खुलाउने विषयमा छलफल

चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको र त्यो छिट्टै खुल्ने विश्वास समेत उनले व्यक्त गरे । चीनका विदेशमन्त्री वाडसँग सो नाका खुलाउनका लागि करिव १ घण्टा टेलिफोन संवाद आफूले गरेको उल्लेख गर्दै उनले दुवै देशको हितका लागि पनि सो नाका खुलाउन ढिलाई गर्न नहुने बताए ।

मन्त्री खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खल्बल्याउने बताए । उनले ठूला र साना देशको सम्बन्ध पनि खल्बलिने भएकाले नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर त्यस सम्बन्धमा वक्तव्य निकालेको दावी समेत गरे ।
युक्रेनको पक्षमा नेपाल सरकारले वक्तव्य निकालेको प्रचार भईरहेका बेला मन्त्री खड्काले मुलुकको परराष्ट्र नीति, सबै राष्ट्रहरुको सार्वभौमिकता र संयुक्त राष्ट्र संघको वडापत्रको समेत सम्मान गर्दै नेपाल सरकारले सो सम्बन्धमा वक्तव्य जारी गरेको स्पष्ट पारे ।

छिट्टै रिक्त राजदूतको नियुक्ति

परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रिक्त रहेका राजदुतहरुको नियुक्तीमा ढिलाई नहुने बताएको छ । मन्त्री खड्काले विभिन्न देशमा रिक्त रहेका राजदुतहरुको नियुक्ती छिटोभन्दा छिटो हुने पनि बताए ।

उनले एमसीसी वा सत्तागठबन्धनका कारण राजदुत नियुक्तीहरुमा ढिलाई भएको स्विकार गर्दै अब त्यसो नहुने प्रतिवद्धता जनाए ।

मन्त्री खड्काले संयुक्त राष्ट्रसंघको सम्बन्धलाई अझ सुदृढ बनाएको, ५३३ जना नेपालीलाई युक्रेनबाट अन्य मुलुकमा पठाएको, नेपालले पनि विपत्तिमा परेकाबेला अन्य राष्ट्रहरुलाई सहयोग गर्न सक्छ भन्ने उदाहरण अफगानिस्तानमा राहत सामग्री पठाएर पुष्टि गरेकोलगायतका कार्यहरु आफ्नो कार्यकालमा भएको पनि बताए ।

प्रतिक्रिया