बिहीबार, माघ ८, २०८२

राष्ट्रियसभामा रिक्त एक पदमा को होलान् सिफारिस ?

वरिष्ठ कलाकार निर शाहलाई सिफारिस गर्ने प्रधानमन्त्रीको चाहना

मेरोन्यूज २०७८ फागुन २४ गते ११:१९

काठमाडौं । राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक पद रिक्त छ । ५९ सदस्यीय राष्ट्रिय सभामा ५८ सदस्य अहिले कायम रहेपनि रामनारायण विडारीको ४ वर्षे कार्यकाल सकिएपछि एक पद रिक्त हुन आएको हो ।
राष्ट्रिय सभामा सरकारको सिफारिसमा एक महिलासहित ३ जना राष्ट्रपतिले मनोनित गर्न पाउने सम्वैधानिक ब्यवस्था छ ।
सोही आधारमा रिक्त एक पदमा अहिले सरकारले कसलाइ सिफारिस गर्ला सत्तागठबन्धन दलभित्र चर्चा शुरु भएको छ ।

४ वर्षे कार्यकाल सकेर सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका विडारीसहित २० जना सांसदको पद फागुन २० वाट सकिएको थियो । जसमा १९ जना नयाँ निर्वाचनबाट निर्वाचित भएर आईसकेका छन् । उनीहरुको सपथ ग्रहण पनि सकिइसकेको छ ।


तर सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक रिक्त पदमा भने अहिले सरकारले औपचारिक रुपमा सिफारिस गरिसकेको छैन । यस अगाडी केपी ओली नेतृत्वकै सरकारको पालामा विडारी, डा युवराज खतिवडा र विमला राई पौडेलको सिफारिस पछि मनोनित भएका थिए ।

दुइ वर्षे कार्यकाल सकेपछि डा युवराज खतिवडाको पद पनि रिक्त भएपछि तत्कालिन नेकपा सरकारले वामदेव गौतमलाइृ सिफारिस गरेका थिए । सोही सिफारिसमा आधारमा अहिले विमला राई पौडेल र गौतम सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका सांसद राष्टिय सभामा छन् । गौतमलाइृ सिफारिस गर्ने बेला तत्कालिन नेकपाभित्र निक्कै ठूलो विवाद भएको थियो ।

त्यसवेला प्रधानमन्त्री रहेका ओलीले डा खतिवडालाई नै दोहोराउन चाहेपनि पार्टीभित्रको घेरावन्दीमा परेपछि उनले खतिवडालाई नियुक्त गर्न नसकी गौतमलाई नियुक्त गर्न बाध्य हुनु परेको थियो । तर अहिले सरकार ओलीको छैन । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीको संयुक्त गठबन्धन सरकार अहिले छ । सरकारको नेतृत्वमा कांग्रेसका सभापति शेरवहादुर देउवा छन् ।

रिक्त एक पदमा अहिले देउवाले आफनो तर्फबाट सिफारिस गर्ने गठबन्धन दलभित्रका नेताहरुलाई जानकारी गराईसकेका छन् । देउवाले आफनो भागमा राखेर सिफारिस गर्ने बताएपछि त्यसमा अन्य सत्तासहयात्री दलका नेताहरुले कुनै असहमति जनाएका छैनन । त्यसो हुँदा देउवाले कसलाई सिफारिस गर्न चाहेका छन् त ?


बालुवाटार स्रोतका अनुसार, रिक्त एक पदमा प्रधानमन्त्री देउवाले वरिष्ठ कलाकार निर शाहलाई मनोनित गर्न चाहेका छन् । उनले सत्ता गठबन्धन दलका नेताहरुलाइ यसबारेमा जानकारी पनि गराईसकेको बालुवाटार स्रोतले बताएको छ ।

शाहलाई सांसद बनाउने कांग्रेसको तयारी यो नयाँ होइन । उनलाई धेरै अगाडी देखि नै सांसद बनाउने अनेक प्रयास नगरेको होइन । तर सम्भव भएको थिएन । शाहलाई संविधानसभाकै बेला २६ जनाको कोटामा अटाएर सभासद बनाउने तयारी कांग्रेसको थियो । तर, आन्तरिक किचलोका कारण नमिलेपछि उनलाई टेलिभिजन सुधार गर्ने जिम्मेवारी सहित नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त गरेको थियो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी केही समय माओवादीमा पनि लागेका थिए । तर धेरै समय उनी माओवादीमा रहेनन । त्यसपछि कांग्रेसमा प्रवेश गरे । उनले त्यस अगाडी पनि चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारी पनि समालिसकेका छन्। पञ्चायत कालमा उनी पञ्चायतको पक्षपोषक पनि थिए ।

उनलाई देउवाले सरकारको सिफारिसमा राष्टिय सभामा मनोनित गर्ने विषयमा आस्वस्त पारिसकेको बताइएको छ । उनलाई अवको केही समयमै मन्त्रिपरिषद्को बैठकबाट सिफारिस गर्ने तयारीमा प्रधानमन्त्री जुटिसकेको बताईएको छ ।

प्रतिक्रिया