आइतबार, वैशाख २७, २०८३

बढ्यो चुनावी रौनकः भोट माग्न गाउँ छिर्दै दलहरु

मेरोन्यूज २०७८ फागुन २५ गते १६:४४

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी बहसले लामो समय अल्झिएका राजनीतिक दलहरु भोट माग्न एकैसाथ गाउँ छिर्ने तयारी गरेका छन् ।

Advertisement
NiccNicc


सरकारको नेतृत्वको गरेको नेपाली कांग्रेस, सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भोट माग्न एकै साथ गाउँ छिर्ने तयारी गरेका छन् ।


सरकारमा रहेको प्रमुख दल कांग्रेस फागुन २९ गतेदेखि दशैभर एक साथ अभियान सञ्चालन गर्दैछ । ‘घर घर जाउँ, कांग्रेस जिताउँ’ अभियान लिएर कांग्रेसले एक महिने अभियान सञ्चालन गर्दैछ । कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिलाई पठाउने निर्णय गरेको छ । कांग्रेसले बुधबार नै पत्रकार सम्मेलन गरी उक्त एक महिने अभियानको घोषणा गरेको छ ।


यस्तै, सत्तारुढ प्रमुख घटक माओवादी केन्द्र पनि निर्वाचन अभियान लिएर गाउँ जाने निर्णय गरिसकेको छ । माओवादी केन्द्रमा चुलिएको एमसीसी विवादलाई थाति राखेर निर्वाचनमा होमिने निर्णय गरेको छ । निर्वाचनका लागि माओवादीले प्रदेश कमाण्डर तोकेको छ भने प्रदेश कमाण्डरको मातहतमा सबै जिल्ला जिल्लामा निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।


सत्ता गठबन्धनकै दल नेकपा एस (एकीकृत समाजवादी) ले निर्वाचन तयारीका लागि आजदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष माधव नेपालले एक महिने अभियानको प्रस्ताव अघि सारेका छन् ।
एमालेबाट चोइटिएको नेकपा एसलाई गाउँ गाउँमा संगठन निर्माण गर्नुपर्ने पनि समस्या छ । निर्वाचन अभियानसँगै पार्टी संगठन विस्तारमा जोड दिने उसको तयारी छ ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि निर्वाचनमा होमिने भएको छ । सत्ता गठबन्धनलाई फुटाउने प्रयत्न गरिरहेको एमालेले निर्वाचन लक्षित कार्यक्रमहरु थालिसकेको छ ।


स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन मिलेर निर्वाचनमा होमिएमा भने एमालेले ठूलो चुनौति सामना गर्नुपर्नेछ । यद्यपि गठबन्धन दलहरुले एमसीसीको विषयमा देखाएको द्वैध चरित्रलाई भने आसन्न चुनावमा मसला बनाउने देखिएको छ ।


यस्तै, हिन्दु राज्य र राजतन्त्रको वकालत गर्दै आएको राप्रपाले पनि निर्वाचन लक्षित कार्यक्रम अघि सारेको छ । गणतन्त्रवादी दलहरु भ्रष्टाचारमा लिप्त भएको र राष्ट्रियतासमेत कमजोर बनाएर देशलाई असफल राष्ट्र बनाउँदै गएको भन्दै ब्यवस्थाकै खिलापमा राप्रपा निर्वाचनमा जाँदैछ । निर्वाचन अभियानबारे राप्रपाले औपचारिक घोषणा भने गरिसकेको छैन ।


एमसीसी विरोधी साना दलहरुले एमसीसी राष्ट्रघाती भएको भन्दै ठूला दलहरुको भण्डाफोर अभियान लिएर निर्वाचनमा होमिने भएका छन् ।

प्रतिक्रिया