बिहीबार, चैत १२, २०८२

एमसीसी सम्झौताले सेना होइन, बिजुलीको तार विस्तार गर्ने हो : मन्त्री खाँण

मेरोन्यूज २०७८ फागुन २७ गते १२:२९

काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली निर्माण व्यवसायी क्षमता अभिवृद्धि गर्न सरकारको सहयोग हुने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा तथा १२ औँ अधिवेशनमा सम्बोधन गर्दै उनले यसका लागि सरकारले थप काम गर्ने बताए ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै, उनले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पास गर्न प्रेरणा दिएको भन्दै निर्माण व्यवसायीलाई धन्यवाद दिए । उनले भने, ‘सदनमा गतिरोध हुँदा हुँदै पनि प्रतिनिधिसभाले एमसीसी पास गरेको छ, सबैले साथ दिएर एमसीसी पास भएको हो, यस प्रस्तावबारेमा आर्थिक क्षेत्रले सकारात्मक रुपमा लिएको छ, तपाईहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।’

यसैगरी, मन्त्री खाँणले एमसीसी कुनै सैन्य तथा राजनीति सम्झौता नभएको बताए । ‘एमसीसीमा कुनै सैन्य होइन, कुनै राजनीति र प्रशासनीय सम्झौता होइन, नेपालको गरिबी हटाउने, सडक विकास गर्ने, विद्युतको तार तानेर जनताको घरदेखि छिमेकी मुलुकसम्म लैजानका लागि सम्झौता भएको हो,’ उनले भने, ‘बिजुलीको तारबाट कुनै पनि देशको सेना आउन सक्दैन, बिजुलीको तारबाट बिजुली नै आउँछ, बिजुलीको तार विस्तार गर्न नै एमसीसी प्रस्ताव ल्याइएको हो ।’

अधिवेशनमा बोल्दै उनले उद्योगी तथा व्यवसायीलाई दुःख दिने उद्देश्य सरकारको नभएको बताए । उनले व्यवसायीलाई सुरक्षा दिने काम सरकारको भएको बताउँदै आम्दानी गरी कर तिर्न आग्रह गरे ।

प्रतिक्रिया