शुक्रबार, वैशाख २५, २०८३

बाबुरामको दृष्टिमा वैद्य, विप्लव, माले, एमाले एउटै ! (दस्तावेजको पूर्णपाठ)

‘सबै कम्युनिस्ट एउटै पेन्सिलका फरक फरक टुक्रा’

मेरोन्यूज २०७८ फागुन २८ गते १७:१९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका सबै कम्युनिस्ट पार्टीलाई एउटै कित्तामा राखेका छन् ।

आजबाट काठमाडौंमा शुरु भएको पार्टीको संघीय परिषद्को बैठकमा पेश गरेको प्रतिवेदनमा भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’लाई पनि एमालेकै कित्तामा दर्ज गरेका छन् ।

नेपालमा दर्जनौं कम्युनिस्टहरु रहेको र ती सबै घटकहरु आधारभूत रुपमा उस्तै भएको उल्लेख गर्दै भट्टराईले एउटै पेन्सिलका फरक फरक टुक्राका रुपमा टिप्पणी गरेका छन् ।

संसदमा नभएका नेकपाका अन्य घटकहरु वैद्य, विप्लब, आहुति, माले लगायतका सबै समूह आधारभूत रुपमा एउटै भएको भट्टराईको विश्लेषण छ ।

‘नेपालमा दर्जनौं कम्युनिष्ट समूह छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ठूला कम्युनिष्ट समूह हुन् । साना कम्युनिष्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसदमा प्रतिनिधित्व गर्दछन् । संसदमा नभएका नेकपाका अन्य घटकहरु वैद्य, विप्लब, आहुति, माले आदि अनेक समूहहरु छन् ।’, भट्टराईले लेखेका छन्, ‘यी सबै समूहको विचार र उत्पत्तिको आधार एउटै हो । यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ‘नयाँ जनवादी क्रान्ति’ र माओ त्से–तुङ विचारधारा/माओवादबाट प्रभावित छन् । यी सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन् ।’

माओ विचारबाट अभिप्रेरित भई तत्कालिन माओवादी जनयुद्धमा लागेको भट्टराईले कम्युनिस्टहरुलाई कुनै विचार नै नभएको पार्टीका रुपमा अथ्र्याएका छन् । नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको उनको टिप्पणी छ ।
‘विश्व साम्यवादी आन्दोलनमा आएको व्यापक उतारचढाब, पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्य असान्दर्भिक बनेको अवस्था, विश्व इतिहासप्रति सृजनशील आलोचनात्मक चेतको कमी, कतै पलायन र विर्सजन, कतै जडता र रुढताले नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको छ ।’– भट्टराईले लेखेका छन् ।

Advertisement
NiccNicc

‘शास्त्रीय साम्यावादको विश्व असफलतापछि पनि पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुन्ठा, निराशा, हतासा, विम्रभ र उद्धिग्नताबाहेक साना वामपन्थी समूहसँग थप कुनै गुण देखिन्न ।’– भट्टराईको प्रतिवेदनमा छ ।

ओली, प्रचण्ड, माधव अवसरवाद

जसपा संघीय परिषद अध्यक्ष भट्टराईले मुलधारका तीन कम्युनिस्ट पार्टीलाई अवसरवादी भनेका छन् ।
एमसीसी प्रकरणमा यी तीन वटै कम्युनिष्ट समूहले चरम अस्थिरता, अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरेको उनको ठम्याई छ ।

तीनै दलले देशको अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको विश्वसनीयता र प्रतिष्ठा, भूराजनीति र विकासजस्तो गम्भीर र संवेदनशील विषयमा समेत सस्तो राजनीति गरेको उनले टिप्पणी गरेका छन् । उनीहरुले जनता र विश्वको आँखामा आफैंलाई अविश्वसनीय र नाटकी सिद्ध गरेको दाबी भट्टराईले गरेका छन् ।



प्रतिक्रिया