आइतबार, वैशाख २७, २०८३

इन्धन आयात धान्न गाह्रो हुँदैछ, विद्युतीय उपकरण प्रयोग गरौँ ः मन्त्री भुसाल

मेरोन्यूज २०७८ फागुन २८ गते १७:४५

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छन् ।

Advertisement
NiccNicc

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा उनले विगतको तुलनामा विद्युत् सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरिन् ।

ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युतको महसुल घटाएको उनको भनाई छ ।

हाल एक सिलिन्डर ग्यासको मूल्य रु एक हजार ५०० भन्दाबढी भएको छ । पेट्रोल र डिजेलको मूल्य पनि बढ्दै गएको छ ।

एक लिटर पेट्रोलको मूल्य रु १५० तथा एक लिटर डिजेलको मूल्य रु १३० भन्दाबढी पुगेको र आगामी दिनमा तिनको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्ने मन्त्री भुसालको भनाई छ ।

दिनदिनै पेट्रोलको मूल्य बढेको उल्लेख गर्दै मन्त्री भुसालले गाडी किन्नेहरुलाई पनि अब विद्युतीय नै किन्न सुझाव दिइन् ।

ठूला सहरमा भाडामा बसेर आफ्नो पेशा तथा व्यवसाय गर्नेले पनि अब सजिलै विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताउँदै उनले आवश्यक क्षमताको छुट्टै मिटर लिएर विद्युतीय उपकरण प्रयोग गर्न सकिने स्पष्ट पारे ।

विद्युतीय उपकरण प्रयोग गर्दा देशको आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्दै मन्त्री भुसालले देशमा विदेशी मुद्राको सञ्चितिलाई सन्तुलित राख्न र जलविद्युत्को भरपुर उपभोग गरेर देशको आर्थिक अवस्था उकास्नका लागि सहयोग गर्न आग्रह गरिन् ।

आगामी आर्थिक वर्षदेखि कृषिका लागि आवश्यक पर्ने विद्युत् निःशुल्क उपलब्ध गराउने पनि मन्त्री भुसालले प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया