निर्वाचनमा विपन्नलाई रक्सी, मासु र पैसाको प्रलोभनमा पारियो

गुल्मी । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सरकारी तथा गैरसरकारी संस्थाले गाउँगाउँमा मतदाता शिक्षा सञ्चालन गरेको छ । तर, गुल्मीका सरोकारवालाले मतदाता शिक्षा दलले सञ्चालन गर्नु पर्ने जोड दिएका छन् ।
दलित महिला संघ गुल्मीले आयोजना गरेको जिल्ला स्तरीय सरोकारवाला निकायबीचको समन्वय बैठकमा बोल्ने अधिकांशले आयोगको लगानी र अभियानले मात्र नहुने बताए । दलित महिला संघले जिल्लाका रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र मालिका गाउँपालिका गरेर चार स्थानीय तहमा दलित महिला तथा सिमान्तकृत समुदायको निर्वाचन र राजनीति सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियान सञ्चालन गर्दै छ ।
गैरसरकारी संस्था महासंघ गुल्मीका अध्यक्ष विष्णु भण्डारीले दलले आफ्नो नियत र प्रवृति नसुधारेसम्म मतदाता शिक्षा प्रभावकारी नहुने बताए । आयोगका मतदाता शिक्षा स्वयंसेवकले फिल्ड खाली गर्ने बित्तिकै दलहरूले आफू केन्द्रीत प्रचार गर्ने र दलित तथा विपन्नलाई रक्सी, मासु र पैसाको प्रलोभनमा पार्ने गरेको आरोप लगाए । नागरिक समाजका संयोजक पदम पाण्डेयले स्वयंसेवक राजनीति प्रभाव मुक्त हुनुपर्नेमा जोड दिए ।
उनले मतदाता शिक्षाले ‘नो भोट’ भन्नेहरूलाई पनि आफ्नो मालिक बन्ने अधिकारको बारेमा जानकार बनाउँदै स्वतन्त्र नागरिक बनेर आफ्नो मताधिकारको प्रयोग गर्न उत्प्रेरित गर्नु पर्ने बताए । दलित महिला संगठनकी केन्द्रीय उपाध्यक्ष सीता विश्वकर्माले निर्वाचनमा जहिले पनि दलित समुदाय किनबेचको सिकार भइरहेको गुनासो गरिन् ।
जिल्ला समन्वय समिति सदस्य उमा चुदराले सबैभन्दा बढी बदर मत दलित समुदायका हुँदा पनि दलले मत सुरक्षित गर्नभन्दा पार्टी प्रवेश गराउनमा व्यस्त भएको बताइन् । दलहरुको तर्फबाट एमाले नेता गणेश श्रीपालीले मतदातामा निराशाभन्दा आशा जगाउने गरेर अभियान र मतदात शिक्षा पार्टीहरुले सञ्चालन गर्नुपर्ने बताए ।
त्यस्तै माओवादी केन्द्रका नेता अशोक थापाले नेपालमा दलहरूले मासु खुवाएर र रक्सीको भल बगाएर चुनाव जित्दै आएकाले समुदाय आफै सचेत नभएसम्म प्रवृतिको अन्त्य नहुने बताए । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैर र निर्वाचन कार्यालय प्रमुख माया कुँवरले सरकारका मापदण्डको पूर्ण पालना गर्दै विवादरहित मतदाता शिक्षा सञ्चालन गर्न दलित महिला संघलाई अनुरोध गरे । दलित महिला संघ गुल्मीले चार पालिकाका १० स्थानमा नमुना मतदान र दुई स्थानीय तहमा सचेतनामुलक सडक नाटक प्रस्तुत गर्ने अध्यक्ष कमला बरालले जानकारी दिइन् ।
उनले चार स्थानीय तहको चार हजार घरधुरीमा २० जना स्वयसेवकमार्फत मतदाता शिक्षा प्रदान गरिने बताइन् । दलको चंगुलमा परेर आफ्नो मत दुरुपयोग वा बदर गर्ने प्रवृतिको अन्त्य गर्ने उद्देश्यलेनै मतदाता शिक्षा सञ्चालनको योजना बनाइएको दलित महिला संघ गुल्मीको सचिव विष्णु विश्वकर्माले बताइन् । अब पालिकास्तरमा समन्वात्मक बैठक र निर्वाचन कार्यालयसँग सहकार्य गरेर अरु गतिविधि अगाडि बढाउने विश्वकर्माले जानकारी दिइन् ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया