शुक्रबार, माघ ९, २०८२

देउवाकै गृह जिल्लामा कांग्रेसको विवाद, अभियान बहिष्कार गर्ने चेतावनी

मेरोन्यूज २०७८ फागुन ३० गते १२:०१

काठमाडौँ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसभित्रको विवाद बढ्दै गएको छ ।

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकताबद्ध हुने गरी नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्ला स्तरीय नेता कार्यकर्ताले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन् । १४ औँ राष्ट्रिय महाधिवेशनअघि सम्पन्न सातौँ जिल्ला अधिवेशनका क्रममा दुई खेमामा बाँडिएका नेता कार्यकर्ताले पार्टीलाई एकताबद्ध बनाउन दबाब दिँदै आएका छन् ।

सातौँ जिल्ला अधिवेशनका क्रममा क्रियाशील सदस्यतामा केन्द्रबाट हेरफेर गरिएको र चार सय ६० जना क्रियाशील सदस्यको सदस्यताविना कारण नवीकरण नगरिएको भन्दै तत्कालीन जिल्ला कार्य समितिले क्रियाशील सदस्यता विवाद नटुंगिएसम्म जिल्ला अधिवेशनमा सहभागी नहुने अडान राखेर जिल्ला अधिवेशन बहिष्कार गरेको थियो ।

पार्टी सभापति देउवाको सहयोगमा एक पक्षीय रूपमा जिल्ला अधिवेशन सम्पन्न गर्दै कांग्रेस डडेल्धुराको सभापति बनेका परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले पार्टी एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि हाल एक पक्षीय रूपमा चुनावी अभियान सञ्चालन हुन थालेपछि फेरि असन्तुष्टि बढ्न थालेको हो ।

कांग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको अवस्थामा एकलौटी रूपमा चुनावती अभियान सञ्चालन गरिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताहरूले बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

शनिकार परशुराम नगरपालिकाको जोगबुडामा भेला भएका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले एकपक्षीय रूपमा चुनावी अभियान सञ्चालन गरिन थालिएकोमा तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

नगर प्रमुख तथा कांग्रेस डडेल्धुराका सभापति साउदले सातौँ जिल्ला अधिवेशनको प्रारम्भदेखि नै पार्टीको विधानविपरीत काम गर्दै इमान्दार नेता कार्यकर्तालाई पेलेर एक पक्षीय रूपमा जिल्ला सभापति भएको र हाल जिल्ला स्तरीय नेता कार्यकर्ताहरूको ठूलो हिस्सा असन्तुष्ट रहेको अवस्थामा एकपक्षीय रूपमा चुनावी अभियान घोषणा गरिएकाले आगामी ५ चैतमा वडास्तर र ८ गते पालिका स्तरमा हुने चुनावी अभियानको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।

कांग्रेस डडेल्धुराका पूर्वउपसभापति धर्मानन्द भट्टको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलाले पार्टी एकताबद्ध बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले संघर्ष समिति समेत गठन गरेको छ। समितिका सदस्यहरूमा प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार गोपा थापा, कांग्रेस डडेल्धुराका पूर्वसदस्य तथा परशुराम नगरपालिका(१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी, भोजराज बोहरा, रामसिंह ऐर, दानबहादुर साउद र राजबहादुर भण्डारी सदस्य छन् ।

संघर्ष समितिले पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा होमिन नेतृत्वलाई दबाब दिन संघर्षका कार्यक्रम सञ्चालन गर्ने संयोजक भट्टले बताए । उनले पार्टीभित्र इमान्दार नेता कार्यकर्ताहरूलाई पन्छ्याउन खोजिएकाले पार्टी एकताबद्ध नहुन्जेलसम्म वर्तमान जिल्ला कार्य समितिले अघि सारेका हरेक कार्यक्रम बहिष्कार गरिने जानकारी दिए ।

कांग्रेस डडेल्धुराले स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार जिताउन ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान एक पक्षीय रूपमा सञ्चालन गर्न थालेको छ । २९ फागुनदेखि २९ चैत एक महिनासम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न कांग्रेस केन्द्रीय समितिको निर्देशन छ ।

डडेल्धुरा जिल्लाका सातवटा स्थानीय तहमा ८ चैतमा एकै समयमा हुने चुनावी सभाका लागि प्रतिनिधि तोकिएका छन् । दुईवटा नगरपालिकामध्ये परशुराम नगरपालिकामा सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दराज बोहरा र अमरगढी नगरपालिकाका लागि वर्तमान जिल्ला सभापति एवं परशुराम नगर प्रमुख साउद प्रतिनिधि तोकिएका छन् ।

यस्तै, भागेश्वर गाउँपालिकामा जिल्ला कार्य समिति उपसभापति लक्ष्मीप्रसाद अवस्थी, अजयमेरू गाउँपालिकामा जिल्ला कार्य समिति सचिव हेमराज चटौत, नवदुर्गा गाउँपालिकामा सचिव शेरबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिकामा जिल्ला कार्य समिति उपसभापति डिल्लीराज जोशी र आलिताल गाउँपालिकामा पूर्वसभापति रघुवर भट्ट प्रतिनिधि तोकिएको कांग्रेस डडेल्धुराले जनाएको छ ।

स्थानीय चुनाव अभियान सफल पार्न जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रदेशसभा क्षेत्रीय समितिबाट डडेल्धुराका ५२ वटै वडामा प्रतिनिधि खटाइएको छ भने ५ चैतमा वडाहरूको कार्यक्रम सञ्चालन गर्न ५२ जना प्रतिनिधिहरू खटाइएको छ ।

यसरी प्रतिनिधि खटाउँदा एकपक्षीय रूपमा खटाइएको भन्दै कांग्रेस डडेल्धुराभित्र तीव्र असन्तुष्टि बढेको कांग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले बताए । उनले अन्य स्थानीय तहमा पनि नेता कार्यकर्ताले एकपक्षीय रूपमा सञ्चालित चुनावी अभियान बहिष्कार गर्ने जानकारी दिए । पार्टी एकढिक्का बनाउन प्रधानमन्त्री तथा सभापति देउवाले भूमिका निर्वाह गर्नु पर्ने स्थानीय नेता कार्यकर्ताको माग छ ।

सभापति देउवाले आफू पक्षीय नेता कार्यकर्तालाई अवसर दिने र तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षीय नेता कार्यकर्तालाई पेलेर लैजान थालेकाले कांग्रेस डडेल्धुरामा विवाद सिर्जना भएको कांग्रेस डडेल्धुराका निवर्तमान सहसचिव अर्जुनबहादुर मल्लले बताए ।

प्रतिक्रिया