आइतबार, वैशाख २७, २०८३

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न पहल गरौँ : मन्त्री भुसाल

मेरोन्यूज २०७८ फागुन ३० गते १२:३२

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटना क्रमले जलवायु परिवर्तनका जोखिम बढाउँदै लगेको बताए । आज यहाँ आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको बताए ।

Advertisement
NiccNicc

उनले भने, ‘जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रा नदीनाला तथा वरपरका वस्तीमा उच्चतम देखिन्छ, बाढी तथा पहिरोजस्ता प्रकोपका कारण ठूलो जनधनको क्षति हुन पुगेको छ, जलविद्युत आयोजनासमेत निकै असर परेको छ ।’

मन्त्री भुसालले जलवायु परिवर्तनको असर निरन्तर बढ्ने क्रममा रहेकाले त्यसका लागि जिम्मेवार मुलुकले प्रभावित राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने बताए । उनले भने, ‘जलवायु परिवर्तनका असर बढाउने मुलुकले प्रभावित राष्ट्रलाई उचित क्षतिपूर्ति दिनु पर्छ ।’

जलविद्युत आयोजना गुणस्तरीय र भरपर्दो तवरले निर्माण गर्न तथा विभिन्न प्रकोपले आइपर्ने जोखिमबाट सुरक्षित राख्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भुसालले आयोजनाहरूको दीगो विकासका लागि सुरक्षित कदम चाल्नु पर्ने बताए । जलविद्युत आयोजना सुरक्षित नभएमा देशकै अर्थतन्त्रमा असर पर्न सक्नेतर्फ सचेत गराउँदै उनले जोखिम न्यूनीकरण गरी आयोजना निर्माणका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन तथा विभिन्न निकायसँग समन्वय गर्न उर्जा मन्त्रालयले आवश्यक पहल गर्ने विश्वास दिलाए ।

जलवायु परिवर्तनको प्रभावले यही वर्ष दुईपटक वर्षा र बाढीले ठूलो जनधनको क्षति व्यहोर्नु परेको स्मरण गर्दै मन्त्री भुसालले इलाम नगरपालिका र माई जोगमाई गाऊँपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी जोखिम न्यूनीकरणमा खेलेको भूमिकाको प्रशंसा गरे ।

सो अवसरमा मन्त्री भुसालले उत्पादित विद्युतलाई देशभित्रै खपत बढाउन तथा छिमेकी राष्ट्रलाई निर्यात गर्न आवश्यक नीति नियम तथा वातावरण तयार गरी जलविद्युतको दीगो विकासका लागि निरन्तर प्रयास गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया