तनहुँ जिल्लाका वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरेको छ । सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएकोे हो ।
यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै परिचयका लागि विवरण दर्ताको काम हुँदै आएको थियो । त्यस्तै व्यास नगरपालिकाले पनि वडाबाटै दर्ता सम्पन्न गरिसकेको छ । शुक्लागण्डकीका १२ वटै वडामा विवरण दर्ताको काम थालिएको हो । शुक्लागण्डकी –१२ का वडाध्यक्ष मनराज गुरुङका अनुसार वडामा सात दिन यो अभियान सञ्चालन हुनेछ । प्रत्येक वडाका टोलमा विवरण दर्ताको काम गरिने उनले बताए ।
‘सर्वसाधारणको सहजताका लागि टोल टोलमा पुगेर विवरण दर्ताको काम सुरु गरेका छौँ’ उहाँले भन्नुभयो, ‘चैत ५ गतेसम्म अभियान सञ्चालन हुनेछ ।’
डिजिटल राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सबै स्थानीय तहमा विवरण दर्ताको तयारी थालिएको प्रशासनले जनाएको छ । हालसम्म जिल्लामा २३ हजारभन्दा बढीको विवरण दर्ता भएको छ । विवरण दर्ताका लागि प्रशासन कार्यालयमा दुईवटा स्टेशन स्थापना गरिएको छ । नागरिकता बनाउनेबित्तिकै परिचयपत्रका लागि विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
परिचयपत्रको विवरण बुझाउन अनलाइन पनि प्रयोग गर्न सकिन्छ । परिचयपत्रका लागि आवेदन बुझाउन अनलाइन प्रक्रिया पूरा गरी प्रशासन कार्यालयमा आफै उपस्थित हुनुपर्नेछ । तर अनलाइनबाट फारम भर्न सर्वसाधारणलाई गाह्रो हुँदै आएको छ ।
परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम, थर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँलाछाप ९ वटा, आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।
सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा–सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ ।
यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रूपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रूपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।
अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।
राष्ट्रिय परिचयपत्र नं र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रूपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।रासस

















आचारसंहिता उल्लंघनका घटना बढ्दो
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास बढ्दै गएको छ : संयोजक दाहाल
यस पटकको होली घरभित्रै मनाउन आग्रह
प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
प्रतिक्रिया