शनिबार, वैशाख २६, २०८३

चिनियाँ विदेश मन्त्री एकैपटक नेपाल, भारत र पाकिस्तानको भ्रमणमा निस्किँदै

पाकिस्तान हुँदै नेपाल आउने की नेपालबाट भारत हुँदै पाकिस्तान जाने भन्नेमा निधो हुन बाँकी

शित्तल शर्मा २०७८ चैत २ गते १८:४८

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल, भारत र पाकिस्तानको एकैपटक भ्रमणमा निस्कन लागेका छन् । औपचारिक रुपमा भ्रमण तालिका सार्वजनिक दुवै पक्षले नगरे पनि उनी नेपालमा चैत्र १२ गते आउने र नेपालबाटै १३ गते भारत जाने गरी कार्यक्रम बनेको सार्वजनिक भइसकेको छ ।

Advertisement
NiccNicc

नेपाल र भारतका दुवै देशका सञ्चार माध्यमका समाचारका आधारमा वाङ यी १२ गते नेपाल आउने र नेपालबाटै भारत जाने गरी कार्यक्रम बनेको प्रष्ट बुझिन्छ । तर, नेपालभन्दा अगाडि नै पाकिस्तान पुगेर वाङ यी नेपाल आउने छन् । नेपाल आएर भारत हुँदै पाकिस्तान पुग्छन् भन्नेबारेमा भने प्रष्ट कार्य तालिका आइसकेको छैन । यद्यपि, उनले नेपाल, भारत र पाकिस्तानको भ्रमण सकेर स्वदेश फर्किने गरी भ्रमणमा निस्कन लागेका हुन् ।

′पाकिस्तान हुँदै नेपाल आउने कि नेपालबाट भारत हुँदै पाकिस्तान जाने भन्नेमा प्रष्ट भइसकेको छैन, जान चाहिँ नेपाल, पाकिस्तान र भारतको रुटमा वाङ एकैपटक निस्कन लागेका हुन्,′ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

नेपालमा वाङ भ्रमणका लागि चिनियाँ राजदूत होउ यान्छीले तयारी गरिरहेकी छन् । नेपालका प्रमुख दलका शीर्ष नेताहरूलाई उनले योबीचमा भेटवार्ता गरिसकेकी छन् । प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसम्मका नेताहरूलाई भेटेर राजदूत यान्छीले विदेशमन्त्री वाङको भ्रमणका विषयमा कुराकानी गरिसकेकी छन् ।

वाङको भ्रमण नेपालमा यस मानेमा पनि निक्कै अर्थपूर्ण छ कि, उनी नेपालमा चर्काे विवादमा रहेको अमेरिकी सहयोग परियोजना एमसीसी कम्प्याक्ट सम्झौता सदनबाट व्याख्यात्मक घोषणासहित पारित भएको परिपेक्षमा नेपाल आउन लागेका हुन् । नेपालले संसदबाट अनुमोदन गरेको एमसीसीका विषयमा चीनले ′नोटेड‘ गरेको मात्र प्रतिक्रिया दिएर सुक्ष्म रुपमा अध्ययन गरिरहेको छ ।

नेपालमा एमसीसी सम्झौता सदनबाट पारित भएपछि १० मार्चमा दलाई लामाको जन्मदिन पारेर चीन विरोधी गतिविधि (फ्रि तिब्बत आन्दोलनको पक्षमा सडकमै नाराजुलुससम्म भएको) भन्ने समाचारका आधारमा चीन झस्किएको छ । एकातिर एमसीसी पारित हुने र अर्काेतिर फ्रि तिब्बतको विषयमा सडकमा नाराबाजी भएको विषयमा चीनले निको मानेको छैन । सधै एक चीन नीतिको पक्षमा रहेको नेपालमा हुन सक्ने चीन विरोधी गतिविधिप्रति सचेत हुँदै विदेश मन्त्रीको भ्रमण तालिका नेपालमा तय भएको हो । यसर्थ पनि यो भ्रमण दुवै देशका लागि अर्थपूर्ण मानिएको छ ।

अर्काेतिर नेपालसँग चीनले गरेको बिआरआई सम्झौता र चीनका राष्ट्रपति सी जिनफिङ्गको नेपाल भ्रमणका बेला घोषणा भएको ५६ अर्ब अनुदानको घोषणाको व्यवहारिक कार्यान्वयनको एजेण्डमा पनि वाङ को भ्रमणका बेला छलफल र निष्कर्षमा पुगिने बताइएको छ । चीनसँग सन् २०१७ मे महिनामा बिआरआईमा सहकार्य गर्नेसम्बन्धि छाता समझदारीमा हस्ताक्षरपछि नेपालमा पाँचवटा सरकार बनिसकेका छन् । तर, बिआरआईअर्न्तगतका परियोजना अघि बढाउन चीनसँग ठोस वार्ता अहिलेसम्म भएको छैन ।

साढे तीन वर्षसम्म केपी ओली नेतृत्वको सरकार रह्यो । उक्त सरकारले परराष्ट्र सचिव र अर्थ सचिवको नेतृत्वमा दुई समिति गठन गरी चीनसँग प्रस्ताव गर्न सकिने परियोजना छनोटको जिम्मा दियो । तर, छनोट गरिएका परियोजना कार्यान्वयनका सवालमा चीनसँग वार्ता गर्न चासो दिएन । शुरुमा बिआरआईअन्तर्गत नेपालले ३५ वटा परियोजनाको सूची चीनलाई पठाएको थियो । तर, पछि चीनकै आग्रहमा नेपालले ३५ बाट झारेर नौवटा मात्रै परियोजना अघि बढाउने निर्णय लिएको थियो ।

एमाले अध्यक्ष केपी ओली सरकारको नेतृत्वमा रहँदा उनले राष्ट्रपति सीको भ्रमणका बेला घोषणा भएको अनुदानमा मदन भण्डारी विश्वविद्यालय बनाउने गरी चिनियाँ पक्षसँग प्रस्ताव गरेका थिए । तर, चीनले भने एउटा नेता विशेषको नाममा विश्वविद्यालय बनाउने गरी अनुदान रकम नेपाललाई दिँदा त्यसले नेपालको राजनीतिभित्र पर्न सक्ने विवाद र त्यसमा चीनसम्म भूराजनीतिक विवाद र प्रभावका रुपमा तानिन सक्ने विषयमा गहिरो अध्ययन गरेर कोदारी राजमार्ग निर्माणतिर खर्च गर्न तयार रहेको सन्देश पठाइरहेको छ ।

वाङको यो भ्रमणका बेलामा कोदारी राजमार्ग स्तरोउन्नत्ति गर्नु पर्ने र त्यसैलाई राम्रोसँग बनाउने गरी छलफलमा प्रवेश पाउन सक्ने पनि बताइएको छ । अर्काेतिर नेपालले विदेशमन्त्री वाङको भ्रमणका बेला तातोपानी नाकादेखि अन्य दुईवटा भन्सारका विषयमा पनि चिनियाँ पक्षसँग कुरा गर्ने गरी तयारी गरिरहेको परराष्ट्र स्रोतले बताएको छ ।

चिनियाँ पक्षको भने बुढीगण्डकी आयोजनाका विषयमा पनि चासो रहने सम्भावना रहेको परराष्ट्र स्रोतको भनाई छ । विदेशमन्त्री आउनुअगाडि नै यस विषयमा नेपाल सरकारले कुनै फरक खालको निर्णय लिन सक्ने भनी चर्चा चलिरहेका बेला यसमा पनि चिनियाँ पक्षको चासो हुने अनुमान गरिएको छ ।

नेपालमा रहँदा चिनियाँ विदेशमन्त्रीले उच्च राजनीतिक भेटघाट गर्ने छन् । त्यसपछि १३ चैतमा उनी नयाँ दिल्ली जाने कार्यक्रम बनेको भारतीय सञ्चारमाध्यमले बुधबार मात्रै उल्लेख गरेका छन् । भारत र चीनका सेनाबीच सन् २०२० मे महिनामा सीमा क्षेत्र लद्दाखमा भिडन्त भएयता दुई देशबीचको सम्बन्ध चिसिएर उच्च स्तरीय भ्रमण हुन सकेको छैन । वाङको भ्रमण नै त्यसपछिको उच्च स्तरीय भ्रमण हुँदैछ । भारत भ्रमण भने उनको भारतसँगको सम्बन्ध सुधारका लागि हुन लागेको बताइएको छ।

प्रतिक्रिया