सोमबार, वैशाख २८, २०८३

७० प्रतिशत स्थानीय तहमा विजयी हुने गरी एमाले चुनावमा होमिने

मेरोन्यूज २०७८ चैत २ गते १७:३४

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत ठाउँमा विजयी हासिल गर्ने गरी चुनावमा होमिने भएको छ ।

Advertisement
NiccNicc

संघीय संसद भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्ने गरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘आजको बैठकमा अध्यक्षज्यूले विशेष निर्देशन दिनु भएको छ, उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘तपाईहरू पार्टीलाई धेरैभन्दा धेरै स्थानमा निर्वाचित गराउने गरी लाग्नुहोस् ।’

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निनर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिएका प्रमुख सचेतक भट्टराईले एकाध स्थानमा एकाध पार्टीसँग तालमेल गरे पनि देशभर एक्लै चुनावमा होमिने जानकारी दिए । सर्वसम्मतीमा उम्मेदवार चयन गर्ने दाबी गरेका उनले कुनै स्थानमा सर्वसम्मती हुन नसके माथिल्लो कमिटीले हेर्ने बताए ।

संसदको दशौँ अधिवेशनमा सरकार र सभामुख अग्निप्रसाद सापकोटाले देश र जनताको पक्षमा काम नगरेर आफ्नो मक्सद पूरा गर्ने कार्य मात्र गरेको एमालेले निष्कर्ष निकालेको भट्टराईले बताए । देशको अर्थतन्त्र रसातलमा पुगेको भन्दै यसको प्रतिवाद गर्ने एमालेले निर्णय गरेको छ ।

प्रतिक्रिया