सोमबार, वैशाख २८, २०८३

‘एमालेसँग चुनावी तालमेलको ढोका खुला छ’

मेरोन्यूज २०७८ चैत २ गते १९:२३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आबद्ध कांग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति रहेको बताए ।

Advertisement
NiccNicc

‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द छैन ।’ यद्यपि, माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उनको दाबी छ ।

‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौँ, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं’, पुनले भने । उनले बहुमत स्थानीय तह जितेका कांग्रेस एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । तर, माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुना योग्य काम भएको उनको भनाइ छ ।

कार्य सम्पादनमा उत्कृष्ट पाँच पालिकामध्ये तीन पालिका माओवादीले जितेका भएबाट पनि माओवादीले स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उनले बताए ।

‘देशभर उत्कृष्ट ठहरिएका पाँचमध्ये तीन हामीले जितेका पालिका भएका छन्, यसले पनि हाम्रो क्षमता दर्शाउँछ’, उनले भने । माओवादीले जितेका ११६ वटै पालिकामा अन्य दलले जितेकाभन्दा राम्रो काम भएको दाबी उनले गरे ।

प्रतिक्रिया