आइतबार, चैत १५, २०८२

सम्मेलनमा भाग लिन अध्यक्ष तिमिल्सिना इण्डोनेशिया जाँदै

मेरोन्यूज २०७८ चैत ४ गते १६:३१

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४४ औँ सम्मेलनमा भाग लिन इन्डोनेशिया जाने भएका छन्। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा चैत्र ४ देखि १० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन शुक्रबार बेलुका इन्डोनेशिया जाने भएका हुन् र

Advertisement
nepal life insurencenepal life insurence

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा नौ सदस्यीय प्रतिनिधि मण्डल शुक्रबार बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्यहरू भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरू सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहने छन्।

त्यस्तै, संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, राष्ट्रिय सभा अध्यक्षको प्रमुख स्वकिय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जानकारी दिएको छ।

सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो ः मोविलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्ने छन् । त्यसैगरी सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिहरूको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्ने छन्।

सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते शुक्रबार बेलुकी ८ः४५ बजे नेपाल फर्किने संघीय संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया