तातोपानी जोड्ने सडक कालोपत्रे सुरु

म्याग्दी । प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्रे गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्रे गर्न सोमबारदेखि ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जीनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्रे गर्न प्राइम कोट राख्न थालिएको जानकारी दिए ।’ प्राइम कोट हालेको २४ घण्टापछि बिटुमिन र चिप्स राखेर कालोपत्रे हुन्छ’, उनले भने, “बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक कालोपत्रेका लागि तयार भएको छ ।’
प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । ११ मिटर फराकिलो बनाएर सात मिटरका दरले कालोपत्रे गर्न लागिएको हो । ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले चैत महिनाभित्र बेनीबाट तातोपानीको सडक कालोपत्रे गरिसक्ने बताए ।
“कालोपत्रेका लागि आवश्यक सबै उपकरण र निर्माण सामग्री जुटाइसकेका छौँ”, उनले भने, “मौसमले साथ दिने हो भने चैतभित्र कालोपत्रे सकिन्छ । तातोपानीबाट सिमसम्मको थप तीन किलोमिटरमा पनि दैनिक १०० मजदुर परिचालन गरेर पर्खाल र नाली निर्माण भइरहेको छ ।”
आयोजना व्यवस्थापक सदाले काम गरे पनि बजेट अभावमा पेश गरेको बिलको भुक्तानी पाउन नसकेको गुनासो गरे । हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको सदाले बताए । यही चैत मसान्तसम्म योजनाको सम्झौताको म्याद थपिएको छ । विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । सङ्घबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो ।
म्याग्दीको ‘लाइफ लाइन’ मानिने विसं २०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिराले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटाबाट दरबाङसम्म आठ किलोमिटर खण्डसडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बताए । रासस

















तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया