आइतबार, माघ ४, २०८२

‘ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही हुनु पर्छ’

मेरोन्यूज २०७८ चैत ९ गते १६:१८

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नु पर्ने बताएकी छन् । ट्राफिक नियम उल्लंघनले सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै उनले यस्तो गर्नेलाई कारबाही गर्नु पर्ने बताएकी हुन् ।

‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ, एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ, यसको चेन इफेक्ट थुप्रैलाई परेको हुन्छ,’ उनले भनिन्, ‘ट्राफिक नियम अटेरी गर्नेलाई त निर्ममतापूर्वक कारबाही गर्नै पर्छ, यसबाट राजश्व पनि उत्पन्न हुन्छ र मान्छेको बानी पनि पर्छ ।’

मंगलबार राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले ट्राफिक अनुशासन महत्वपूर्ण रहेको बताइन् । मन्त्री झाँक्रीको निर्देशनमा काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत २० थान ह्विल लक र ८८ थान ट्राफिक लाइट प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला कोरिडोरलाई व्यवस्थित गरेर सवारी आवागमनमा प्राधिकरणले सहजीकरणको प्रयास गरिरहेको बताए ।

यस्तै, ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीले नियम उल्लंघन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । यसअघि दैनिक झण्डै ८ देखि १० लाख रुपैयाँ राजश्व संकलन हुने गरेकोमा हाल १८ लाखसम्म राजश्व संकलन भइरहेको बताउँदै मन्त्रालयमार्फत प्राप्त थप उपकरणले यो अनुपात बढ्ने उनले बताए ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नारायण प्रसाद भण्डारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया