ओली–नेपालको कटाक्ष : दरबार हत्याकाण्डदेखि मदन भण्डारीसम्म

काठमाडौँ । वामपन्थी पार्टी विभाजन हुँदा सबैभन्दा बढी आरोप प्रत्यरोपमा उत्रने गरेका छन् । ०५४ सालमा एमाले विभाजन हुँदा व्यक्तिगत तहमै आरोप प्रत्यारोप चलेको थियो ।
नेकपा माओवादी जनयुद्धको बेलामा एमाले र माओवादीबीच विभिन्न स्थानमा झडप हुने गरेको थियो । कतिपय सन्दर्भमा माओवादीले एमालेका नेता कार्यकर्ताको हत्या गरेका थिए । यो विषयलाई लिएर अहिले पनि एमाले र माओवादीबीच आरोप प्रत्यारोप चलिनै रहेको छ ।
आठ महिनाअघि एमालेबाट विभाजित भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले व्यक्तिगत तहमै आरोप प्रत्यारोप गर्न थालेका छन् । करिब पचास वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली र एमालेबाट आठ महिनाअघि विभाजित भएका नेकपा एसका अध्यक्ष नेपालबीच व्यक्तिगत रुपमै आरोप प्रत्यारोप हुँदा कांग्रेसलाई सहज हुन थालेको छ ।
गत शनिबारदेखि आइतबारसम्मको अवधिलाई हेर्ने हो भने चुनावी एजेण्डालाई एकले अर्कोलाई गाली गर्ने बनाएको जस्तो देखिन्छ । ‘उहाँहरू जत्तिको नेता व्यक्तिगत तहमै उत्रेर गाली गरेको कत्तिपनि सुहाउँदैन, तर यसमै रमाइलो मानिरहनुभएको छ’, एमालेकै एक नेताले भने, ‘करिब ४९ वर्ष एउटौ पार्टीमा बस्नु भयो, अहिले पार्टी कसले कब्जा गर्ने भन्ने होडबाजी चल्दा एउटा नेता निस्केर गएपछि दुवैले आरोप प्रत्यारोप शुरु गरे ।’
पार्टी विभाजन भएपछि निरन्तर रुपमा दुई नेताबीच आरोप प्रत्यरोप चलेको हो । यो क्रम अझै चल्ने सम्भावना बढेर गएको छ । एस पार्टीका अध्यक्ष नेपालले दुई दिनदेखि ओलीलाई राजासँग साँठगाँठ गरेको, प्रधानसेनापतिसँग मिलेर सत्ता लम्ब्याउन खोजेको, प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणासँग मिलेर सेटिङ गरेकोजस्ता आरोप लगाएका छन् ।
ओलीले पनि माधव नेपाललाई भन्न कुनै कसर बाँकी राखेका छैनन् । उखान टुक्का मिलाई मिलाई भन्ने गरेका छन् । खोला तर्नलाई कांग्रेसले औलो नदिए खोलामै डुब्ने जस्ता अभिव्यक्ति दिइरहेका छन् ।
अघिल्लो शनिबार पनि दुई नेताहरूले फरक–फरक कार्यक्रममा एकले अर्कोलाई घोचपेच गर्ने, आरोप प्रत्यारोप गर्ने क्रमलाई निरन्तरता दिए । एमाले अध्यक्ष ओली काठमाडौँमा नेपालप्रति आक्रमक बनिरहँदा माधव नेपाल गोरखा पुगेर ओलीप्रति आक्रमक बने ।
राजाको शासनको बेला माधव नेपालले प्रधानमन्त्री हुन पाउ भन्दै बिन्तीपत्र हालेको विषयलाई पनि ओलीले बेलाबखत सम्झाउने गरेका छन्
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई ओलीले संसदबाट हुबहुँ अनुमोदन गराउन खोजेको तर आफूहरूले त्यसलाई व्याख्यात्मक टिप्पणीसहित सच्याएको दाबी गरेका थिए । तर, त्यही बेला ओलीले माधव नेपालप्रति लक्षित गर्दै एमालेलाई ‘दागी बनाउन खोज्दा आफूहरूले जोगाएको दाबी गरेका थिए ।
राजाको शासनको बेला माधव नेपालले प्रधानमन्त्री हुन पाउ भन्दै बिन्तीपत्र हालेको विषयलाई पनि ओलीले बेलाबखत सम्झाउने गरेका छन् । हरेक सार्वजकि कार्यक्रममा दुई नेताहरूले आफूलाई केन्द्रमा राख्दै आरोप प्रत्यरोपमा उत्रेका छन् ।
एमाले अध्यक्ष ओलीले गत शनिबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै २० वर्षअघि भएको राजदबार हत्याकाण्डमा दिपेन्द्रलाई हत्यारा साबित गर्न बनेको छानबिन समितिमा बसेर माधव नेपालले एमालेलाई बिटुल्याउन खोजेको आरोप लगाए । ओलीले माधव नेपालप्रति लक्षित गर्दै सो छानबिन समितिमा माधव नेपाल बस्न रहर गरेको तर आफूहरूले त्यसको विरोध गरेपछि हटेको बताए ।
समग्रमा उनले माधव नेपालप्रति लक्षित गर्दै नेपालकै कारण एमाले बिग्रन लागेको तर आफूले बिग्रन नदिएको आशयको अभिव्यक्ति दिएका थिए । ओलीको निष्कर्ष माधव नेपालकै कारण पार्टी बिग्रेको भन्ने छ ।
‘अनेक नाटक गरिएको थियो, कसैले त्यसबेला प्रश्नसमेत उठाउन नसकेको अवस्था बनेको थियो’, ओलीले भने, ‘दरबार हत्याकाण्ड र मदन–आश्रित हत्या काण्डका रहस्यहरू रहस्यकै गर्भमा रहे, राजदबार हत्याकाण्डको छानबिनका नाममा गरिने नाटकमा एमालेलाई पनि साक्षी राख्ने प्रयास भएको त्यसलाई रोकेर माधव नेपालको रहर पूरा हुन दिइएन ।’, राजदबार हत्याकाण्डमा दिपेन्द्रले बाउ आमा र भाइ बहिनी मारेको प्लट बनाइएको थियो ।
‘दुनियाँ त्यसको पछि र अन्तर्राष्ट्रिय समुदाय पनि कतिपले बुझे पनि केही भनेनन्, त्यही स्थापित भयो, छानबिन समितिको ड्रामा गरेर त्यसमा माधव नेपाल पनि बस्न रहर गरेका थिए, बसेका थिए, तर हामीलाई हटाइदियौँ’, ओलीले भने । सो कार्यक्रममा ओलीले मदन आश्रितको दुर्घटनामा निधनपछि पार्टीले मदन आश्रित स्मृति प्रतिष्ठान बनाएको तर त्यसलाई व्यक्तिको मागी खाने भाँडो भएपछि मदन भण्डारी फाउण्डेसन खोलिएको दाबी गरेका थिए ।
उनले केपी ओलीको पालामा नेपाललाई इण्डो प्यासिफिक सैन्य गठबन्धनको अंग बन्ने भनेर लेखिएकोमा आफूहरूले त्यसलाई सच्याएका बताएका थिए ।
एमाले अध्यक्ष ओलीले माधव नेपालप्रति सो आरोप लगाइरहँदा उता गोरखामा नेकपा एसका अध्यक्ष नेपालले पनि ओलीले एमसीसी जस्ताको तस्तै पास गराउन खोजेको त्यसलाई आफूहरूले रोकेको बताएका थिए । ‘हामीले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गरायौँ, जुन देशको हितमा छ’, नेपालले भने ।
उनले गोरखामा आयोजित नेकपा एसको कार्यक्रममा संसदको घोषणाले नेपालको गणतन्त्र र संविधान जारी भएको भन्दै व्याख्यात्मक घोषणा लागु गर्न बाध्यकारी हुने दाबी गरे । उनले केपी ओलीको पालामा नेपाललाई इण्डो प्यासिफिक सैन्य गठबन्धनको अंग बन्ने भनेर लेखिएकोमा आफूहरूले त्यसलाई सच्याएका बताएका थिए ।
‘केपी ओलीका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली गएको बेला एमसीसीमा नेपाल सैन्य गठबन्धनको अंग बन्ने लेखिएको थियो, हामीले हुन्न भन्यौँ, हामी कुनै सैन्य गठबन्धनमा जान सक्दैनौँ भन्यौँ’, नेपालले भने ।
नेपालले आउने चुनावमा एमालेलाई धुलो चटाइने बताउँदै एमालेका अध्यक्ष ओलीको अहंकार बढी भएको समेत बताए । नेपालले ओलीकै कारण संविधानमाथि प्रहार भएको, ओली एक्लैले पार्टीलाई अप्ठेरो अवस्थामा पुर्याएको र कम्युनिष्ट आन्दोलनलाई धराशायी बनेको आरोप लगाउने गरेका छन् । नेपालले ओलीलाई गणतन्त्रविरोधी भएको, संविधानमाथि प्रहार गर्न खोजेको व्यक्ति नै राज्यशक्तिको रुपमा उदाउन खोजेको आरोप लगाउने गरेका छन् ।
अध्यक्ष नेपालले आइतबार पनि पार्टी निकट पत्रकारहरूको भेलामा तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानसेनापतिसँग धेरैपटक बसेर गोप्य कुराकानी गरेको र बंगलादेशको मोडलमा चुनाव गराएर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको सूचना सरकारी एजेन्सीहरूबाट आफूहरूले थाहा पाएको बताएका थिए ।
नेपालले राष्ट्रपति र प्रधानसेनापतिसँग धेरैपटक गोप्य कुराकानी गरेको र चोलेन्द्र शमशेरसँग मिलेर अदालत कब्जामा लिन खोजेको बताएका थिए । नेपालले सरकारी एजेन्सीबाट ओलीको दिमागमा के चलिरहेको थियो भन्ने सूचना पाएपछि यो सरकारले त्यसलाई असफल पारेको बताएका थिए ।
















मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
पर्वतमा ८ वर्षमा २०४ किलाेमिटर सडक कालोपत्र
राष्ट्रिय सभा निर्वाचनः अहिलेसम्म कहाँ कति खस्यो मत ?
5 people dead in south India fire incident
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया