सोमबार, चैत १६, २०८२

शेखर समुहमा दुई धार:

शेखर भन्छन् -गठबन्धनबाट निवार्चनमा जाने निर्णय भए विरोध गर्छु, गगन भन्छन्-निर्णय नै भए विरोध गर्दिन

मेरोन्यूज २०७८ चैत १५ गते १०:४८

काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा विवाद चलिरहँदा १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूहभित्र दुई धार देखा परेको छ । सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दल नेकपा एमाले बलियो भएकाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने मतको विपक्षमा मत प्रकट गर्ने कोइराला समूहभित्र दुई धार देखा परेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

कोइरालाले गठबन्धनलाई ठाडै अस्वीकार गर्दै विपक्षमा उभिने जनाए पनि उनकै समूहबाट विजयी भएका महामन्त्री गगनकुमार थापाले भने पार्टीले निर्णयको विपक्षमा नउभिने मत प्रकट गरेका छन् ।

‘शेखर र गगन दुबै नेताले गठबन्धनको विपक्षमा धारणा राख्नु भएको छ, दुवैको मत कांग्रेस एक्लै चुनाव लडनुपर्छ भन्ने नै छ,’ केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘शेखर दाइ गठबन्धन गर्ने निर्णय गरे आफू विपक्षमा उभिने प्रस्ट पार्नु भएको छ भने गगनजीले पार्टीले गठबन्धनमा जाने निर्णय गरेमा असहमतिका बाबजुद पनि पार्टी निर्णय मान्छु भन्नु भएको छ ।’

उनका अनुसार गठबन्धनको विपक्षमा भन्दा पनि अधिकांश सदस्य पक्षमा उभिएका छन् तर त्यसका लागि केन्द्रबाट स्थानीय आवश्यकताको आधारमा मात्रै गठबन्धन गर्नुपर्ने तर्क बैठकमा प्रस्तुत भएका छन् ।

गत शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले धारणा राख्ने क्रम सकिएको छ । आज अपरान्ह ३ बजे बस्ने बैठकमा संसदीय बोर्ड, स्थानीय तह चुनावी घोषणा पत्र लेखन समितिलाई पूर्णता दिने विषयमा कांग्रेसले औपचारिक निर्णय गर्ने जनाइएको छ ।

प्रतिक्रिया