आइतबार, माघ ११, २०८२

सर्वोच्चका लागि न्यायाधीश श्रेष्ठको नाम अनुमोदन

मेरोन्यूज २०७८ चैत १५ गते १५:२९

काठमाडौँ । संघीय संसद् संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आजको बैठकमा उनीसँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

नेपालको न्याय क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्दै सेवाग्राहीलाई अदालतप्रति सम्मान बढाउन उनले विभिन्न समय र स्थानमा रही चालेको कदमको समिति सदस्यले प्रशंसा गरेको थियो ।

न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झारेको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दै आएका छन् । न्याय परिषद्ले उनको नाम सर्वोच्च अदालतका लागि मनोनयन गरी संसदीय सुनुवाईका लागि गत फागुन २७ गते समितिमा पठाएको थियो ।

उनले अदालतमा मुद्दा छिनोफानोका क्रममा विद्युतीय प्रणाली अवलम्बन, पेसी र फैसला तयारीबारे सेवाग्राहीलाई जानकारी, स्थानीय तहका पदाधिकारीसँग मुद्दा छिनोफानोका सम्बन्धमा अन्तक्रिया र प्रशिक्षण, अदालतमा निःशुल्क कानुनी फाँट, न्यायिक सञ्जाल, ‘मिट दि जज’ तथा फैसलामा हार्ने पक्षलाई चित्त बुझाउने फैसला लेखनजस्ता महत्वपूर्ण कार्यको सुरुआत गरेका थिए ।

प्रतिक्रिया