सोमबार, माघ ५, २०८२

‘म एक वर्षपछि आउँछु’ भनेर कंगो पुगेका अनिल कहिल्यै फर्किएनन्

मिसनमा मारिने सेनाको संख्या ६९ पुग्यो

दया दुदराज २०७८ चैत २३ गते १७:४३

‘राम्रोसँग बस्नुहोला । म एक वर्षपछि आउँछु, अनि नयाँ घरमा सरौँला’ शान्ति सेनामा छनोट भएका अनिल गुरुङले गत पुस ७ गते अफ्रिकी मुलुक कंगो जानेबेला आफ्ना बाबु लालबहादुर गुरुङसँग भनेका थिए ।

तर उनि कहिल्यै फर्केर आएनन् । हतियारधारीहरुको दोहोर भिडन्तमा परेर सुर्खेत गुर्भाकोट नगरपालिका १४ का अनिलले मंगलबार ज्यान गुमाए ।
लालबहादुरले मंगलबार नै छोरो मारिएको खबर पाएका थिए । अनिलसँगै सेनामा भर्ना भएका नाति पर्ने चन्द्रबहादुर गुरूङले मृत्युको खबर सुनाएको लालबहादुरले मेरोन्यूजसँग बताए ।

अनिलको मृत्युले यतिवेला लालबहादुरको परिवार शोकमा छ । सधैँभरी टायलले छाएको घरबाट बुवाआमालाई पक्की घरमा सार्ने अनिलले योजना बुनेका थिए ।

त्यसका लागि उनले नयाँ घर निर्माण शुरु गरेका पनि थिए । तर बाबुआमालाई बन्दै गरेको पक्की घरमा नसादैं उनको परदेशको भूमिमा ज्यान गएको छ ।

सेनाको जागिरबाट बचाएको पैसा र अरु जोडजाड गरेर जम्मा गरेको पैसाले अनिलले सुर्खेतमै एकतले घर बनाउन सुरु गरेका थिए । तर अझै घरको प्लास्टरसहित काम बाँकी नै छ । ‘राम्रोसँग बस्नुहोला । म एक वर्षपछि आउँछु, अनि नयाँ घरमा सरौँला भन्थ्यो,’ लालबहादुरले मेरोन्यूजसँग भने, ‘तर कहिल्यै फर्केर नआउने गरी उ हामीवाट सधैका लागि आफै विदा भएर गयो । त्यसरी कहिल्यै फर्केर आउँदैन भन्ने थाहाँ भएको भए, म पठाउने नै थिईन ।’

परिवारको आर्थिक अवस्था सुधार्न सेनामा जागिरे हुनु अगाडी नै अनिलले विदेश जाने योजना बनाएका थिए । त्यही क्रममा उनले एक टुक्रा जग्गा बेचेका पनि थिए । तर उनी वैदेशिक रोजगारीमा जाने प्रक्रिया नमिले पछि अनिल घरै फर्किएका थिए ।
घर फर्किएपछि अनिलका एक आफन्तले सेनामा भर्ना खुलेको उनलाई सुनाएका थिए । त्यसपछि नै हो अनिल नेपाली सेनामा भर्ना हुन पुगेका ।

२०६६ सालमा सुर्खेतस्थित चार नम्बर बाहिनीबाट अनिल नेपाली सेनामा भर्ती भए । सेनामा भर्ती भएको १२ वर्षपछि गत पुस ८ गते उनी शान्ति सेनाको कंगो मिसन छानिएका थिए । मिसनमा गएको साढे ३ महिनापछि अफ्रिकी मुलुक कंगोमा मंगलबार विद्रोहीको आक्रमणमा उनको मृत्यु भयो ।

‘घरको आर्थिक अवस्था धान्ने काम जेठा छोरा(अनिल)ले गरेको थियो । अब के गर्ने हो, कुनै उपाय देख्दिन,’ लालबहादुरले मेरोन्यूजसँगको टेलिफोन संवादमा भने, ‘भाइलाई पनि आर्मी बनाउँला भन्थ्यो । आर्मीमा नभए विदेश पठाउने योजना बनाएको थियो । अब के हुने हो कुनै टुंगो छैन ।’

कसरी मारिए अनिल ?
मंगलबार हतियारधारी समूहले कंगोको इतुरी प्रान्तको बाली भन्ने क्षेत्र कब्जा गर्न खोजेको थियो । हतियारधारी विद्रोही समूहको कब्जा तोड्दै शान्ति सेनाहरूले त्यो क्षेत्र सुरक्षित गरिसकेका थिए ।

विद्रोही समूहको कब्जा तोड्न शान्ति सेनाहरू सफल भइसकेका थिए, हतियारधारीहरू भागिसकेका थिए । भागेका हतियारधारी समूहले अज्ञातस्थलबाट गोली प्रहार गर्दा अनिलको ज्यान गएको हो ।

′अचानक गोली चलेको थियो । नेपाली सेनाको टोलीलाई लक्षित गरी प्रहार भएको गोली अनिललाई लाग्यो । उनी घाइते भए ।’ नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले भने, ‘उनलाई तुरुन्तै हेलिकप्टबाट उपचारका लागि बुनियाँस्थित लेबल २ अस्पतालमा पु¥याइएको थियो । तर उनि बाच्न सकेनन् । अनिलको उपचारकै क्रममा मृत्यु भएको हो ।′

कंगो हतियारधारीले भरिएको मुलुक हो । जहाँ सन् १९९९ देखि नै नेपाली सेना संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ खटिदै आएको छ ।
सरकारको कमजोर उपस्थितिका कारण कंगोमा जनताको जीउधनको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघले शान्ति सैनिक पठाएको छ ।

अनिलको शव बिहीबार काठमाडौं आइपुग्ने जानकारी लालबहादुरले पाएका छन् । त्यहाँबाट आफन्तले सुर्खेत पु¥याएपछि अन्तिम संस्कार गाउँमै गरिने भएको छ ।

मिसनमा मारिने सेनाको संख्या ६९ पुग्यो

संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाले सन् १९५८ देखि विभिन्न ४३ द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना पठाउँदै आएको छ । हालसम्म एक लाख ३५ हजार तीन सय ९९ जनाले शान्ति मिसनमा भाग लिएको सैनिक मुख्यालसँग तथ्याङ्क छ ।

मंगलबार मारिएका गुरुङसँगै हालसम्म ६९ जना सुरक्षाकर्मीहरुको शान्ति मिसनमा खटिएकै बेला मृत्यु भएको नेपाली सेनाले जनाएको छ । ‘गुरुङसहित अहिलेसम्म नेपाली सेनाका ६९ सुरक्षाकर्मीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएकै बेला ज्यान गुमाउनु भएको छ,′ सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले भने ।

सैनिक मुख्यालयको तथ्यांक अनुसार शान्ति मिसनमा खटिएर सबैभन्दा धेरै नेपाली सैनिकले लेबनानमा ज्यान गुमाएका छन् । नेपाली सेनाका २१ जनाले लेबनानको भूमिमा ज्यान गुमाएका छन् । त्योबाहेक ६६ जना सैनिक अपाङ्ग भएका छन् ।

२७ फागुन २०७६ मा युनिफिलमा खटिएका सेनाका अमलदार धादिङ मुलपानीका नरबहादुर मगरको पनि शान्ति मिसनकै क्रममा ज्यान गएको थियो ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया