मंगलबार, माघ १३, २०८२

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी नै तस्करका संरक्षक

मेरोन्यूज २०७८ चैत २४ गते १८:४०


काठमाडौँ । सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बल नै सीमाबाट हुने तस्करीमा सहयोगी बन्ने गरेका छन् । प्रदेश २ को सीमानाकासँग जोडिएका देहात (गाउँ)मा रातिको समय निकै चहलपहल हुन्छ । मुख्य नाका जोडिएका सडक भएर तस्करहरू सामानसहित नेपाल प्रवेश गर्न सशस्त्र प्रहरीले नै आँखा चिम्लिँदा सहयोगी बनेका हुन् ।

महोत्तरीको भिठ्ठामोड, धनुषाको तस्करी हुने मुख्य क्षेत्रमा खजुरी, महुवा बलहा, जटही, सप्तरीको कुनौली, बेलही, सोनारपट्टी, रौतहटको गौरलगायतका नाकाहरूमा राति ड्युटीमा खटिएका प्रहरीसामु नै मोटरसाइकल र साइकलमा तस्करीको सामान ओसारपसार गर्नेहरूको लाम लाग्दा सशस्त्र प्रहरीले कसैलाई कारबाही गर्न वा भन्सार कार्यालयलाई बुझाउन सकेको छैन ।

हाल प्रदेश २ मा सशस्त्र प्रहरीका डीआईजी गणेश ठाडा मगर गएपछि यो क्रम निकै बढेको छ । उनले मातहतका निकायलाई कडाइ नगर्ने र आफ्ना सहयोगीलाई अनुगमनमा खटाएर नाकामा मातहतका निकायलाई काम गर्न नदिएको गुनासो समेत आउन थालेको छ ।

सिरहाको झाझपट्टी, कुसण्डी, पटेर्वा, माड्रलगयातका नाकाबाट पिकअप जिपमै तस्करीको सामान ओसारपसार भइरहँदा तस्करी नियन्त्रणका लागि सीमा खटिएका सशस्त्र प्रहरी निरीह दर्शक बन्ने गरेका छन् । सीमापारिबाट लत्ताकपडा, खाद्यान्न सामग्री, मोटर पार्टस्, कस्मेटिक्स, ग्यास चुलो, लाइटरहितका अवैध सामानहरू भित्रिन्छन् । वारिबाट मदिरा, मरिच, चाइना एप्पल, छोकरा, मटर पारि तस्करी हुँदै आएको छ ।

सीमा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट र नेपाल प्रहरीको एकाई कार्यालय हुँदाहुँदै पनि तस्करीका सामान बेरोक भित्रिनुले मिलेमतो प्रष्ट्याउछ । दुई साताअघि लहान प्रहरीले लहान नगरपालिका २ कटहा चोकबाट तस्करीका समानसहित ना ५ ख ६३४८ नम्बरको मिनी ट्रक पक्राउ गरी भन्सार कार्यालय ठाढीमा बुझायो ।

सिरहाको नवराजपुर गाउँपालिका १ का ट्रक चालक ३९ वर्षीय रामकुमार चौधरीलाई भन्सार कार्यालयले धरौटीमा छाड्यो । तस्करीका सामान र ट्रक भन्सार कार्यालयमै रहेको भन्सार प्रमुख ध्रुवप्रसाद महतोले बताउँछन् । भारतबाट कुसण्डी नाकाबाट ट्रकमा कस्मेटिकसहित प्रवेश गरेको ट्रकमा ३ लाख १५ हजार २ सय ४० रूपैयाँ बराबरको कस्मेटिक्स सामान थियो ।

प्रहरीले ट्रकसहित ११ लाख ४२ हजार १५० रूपैयाँ मूल्यांकनसहित भन्सारमा बुझाएको छ । झाझपट्टी र कुसण्डी नाकाबाट तस्करीका सामान बोकेको सवारी साधन पक्राउ परेको यो पहिलो घटना भन्ने होइन । यसअघि पुस १२ गते पारिबाट तस्करीको चिनीको बोराले भरिएको बिआर ३२ जिबी १९१५ नम्बरको पिकअप जिप लहानस्थित तस्करको गोदामतर्फ आउँदै गर्दा भन्सार कर्मचारीले पक्राउ गरेको थियो ।

झाझपट्टी र कुसण्डी नाकाबाट तस्करीका सामान बोकेको जिप र ट्रक छिर्दासमेत सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट, नवराजपुर झाझपट्टीका इन्सपेक्टर प्रकाश पाण्डे बेखबर छन् । उनलाई डीआईजी ठाडामगरको संरक्षण रहेको स्रोतको दाबी छ । सीमापारिबाट जिप र ट्रकमा तस्करीको सामान बोकेर वारि छिरेको आफूलाई थाहै नभएको उनले बताउने गरेका छन् । ‘यो विषय मलाई थाह छैन’, इन्स्पेक्टर पाण्डेले ।

झाझपट्टीका स्थानीयका अनुसार सुरक्षाकर्मीको मिलोमतोमा यस क्षेत्रमा रातभर तस्करीका सामान बोकेको गाडी बेरोकतोक कुद्छ । सेटिङ नमिल्दा भन्सारका कर्मचारीले एउटा जिप पक्राउ गर्यो । सेटिङ मिलेदेखि कहिल्यै यत्तातिर नताकेको स्थानीय बताउँछन् ।

तस्करलाई लाइनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले केही सामान सामात्ने गरेको छ । लाइन मिलेपछि सबै नदेखे झैं गरेर चुप बस्ने गरेको सीमाबासी बताउँछन् । कुसण्डी नाकाबाट सुर्ती, चिर्नी, लत्ताकपडाले भरिएको चिप प्रत्येक राति लहानको गोदाम पुग्छन । लहानको गोदामबाट चाइना एप्पल, मरिच, छोकरा र मदिराले भरिएको पिकअप जिप कुसण्डी, झाझपट्टी, सितापुर हुँदै पारि पुग्छ । प्रदेश प्रहरी कार्यालय, प्रदेश सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी (घुमुवा) लहानमा अखडा बनाएर तस्करको लाइन मिलाउँछन् । सीमाबाट सहरका गोदामसम्म तस्करलाई सघाउने काम यिनै घुमुवाहरूले गर्छन् ।

पछिल्लो समय तस्करीका लागि चम्केको नाका हो, वीरगञ्ज । यहाँबाट मोटरसाइकल, जिपमा होइन कन्टेनरमै भन्सार छलीका सामान भित्रिने गरेको पइएको छ । फागुन ११ गते वीरगन्ज प्रहरीले एनएल ०१ एल ६५४८ नम्बरको मालवाहक कन्टेनर पक्राउ गर्यो । चालक भारतको औरैया तैसिल युपी का २९ वर्षीय सुनिल कुमारलाई समेत पक्राउ गर्यो । राजस्व छली गरी भित्र्याइएको बिजक, खुद्रा मालवस्तुलाई अन्दाजी ५५ लाख मूल्यांकन गरी आवश्यक कारबाहीका लागि फागुन १२ गते राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

सीमा क्षेत्रमा सशस्त्रको टोली तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी निरीह दर्शक बनिदिँदा तस्करी बढेको उल्लेखित घटनाले प्रष्ट्याउछ । सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण सीमाक्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् ।

भारतीय ब्रान्डका सुर्तीजन्य पानमसाला रजनीगन्धा र तुलसी मधेस प्रदेशका गाउँदेखि सहरभरि छ्यापछ्याप्ती बिक्री हुन्छ । प्रत्येक किराना पसल, खुद्रा पसल, चिया पसल, पान पसलमा रजनीगन्धा तुलसी, सुर्तीलगायतका सुर्तीजन्य पदार्थ भेटिन्छन । नेपाली ५० देखि ६० रूपैयाँमा एक पुरिया बिक्री हुने रजनीगन्धा र तुलसीमा प्रतिकिलो ८८५ रूपैयाँ अन्तःशुल्क तोकिएको छ ।

त्यसैगरी ३० प्रतिशत भन्सार र १३ प्रतिशत कर गरी एक किलोका लागि करिब १७ सय रूपैयाँ भन्सार बुझाउनु पर्छ ।
भन्सार बुझाएर ल्याउँदा महँगो पर्ने भएकाले तस्करीको बाटो प्रयोग गरी रजनीगन्धा र सुर्ती ल्याइन्छ । मधेस प्रदेशको आठवटा जिल्लामा मात्र दैनिक लाखौँको कारोबार हुने रजनीगन्धा र तुलसीको तस्करी हुँदा नियामक निकाय आन्तरिक राजस्व कार्यालय मुकदर्शक बनेर बसेको छ ।

प्रतिक्रिया