मंगलबार, माघ १३, २०८२

हामीसँग पैसा छैन, तर विचार छ : नेता खनाल

मेरोन्यूज २०७८ चैत २६ गते १६:१२

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बोरामा पैसा लिएर जनताको मत किन्न कसैले खोजे कारबाही गर्नु पर्ने माग राखेका छन् ।

नेकपा एसले काठमाडौँमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै निर्वाचन आयोगले बोरामा पैसा लगेर जनताको मत किन्नेलाई कारबाही गर्नु पर्ने माग राखेका हुन् ।

‘हामीसँग खल्तीमा पनि पैसा छैन– अहिले, तर हामीसँग विचार छ, सिद्धान्त छ,’ नेता खनालले भने, ‘हामीले चुनावी अभियानमा पैसा दिने हैन, शिक्षा र स्वास्थ्य जस्ता विकासका बारेमा जानकारी गराउनु पर्ने छ, हामीले जनतालाई शिक्षित बनाउन लाग्नु पर्छ ।’

यस्तै, उनले आफूहरूले काठमाडौँ जिल्लालाई लाल किल्ला बनाउँदै आएकाले आगामी दिनमा पनि काठमाडौँलाई लाल किल्ला बनाउनु पर्ने अवस्था आएको बताए । उनले सबै नेता कार्यकर्ता जनताको बीचमा जानु पर्ने बेला आएको बताएका थिए ।

‘योभन्दा अगाडि हाम्रो पार्टीले देशभर विजयी भएको थियो, बहुमतको सरकार थियो, यस अवसरमा हामीले कृषि क्रान्ति गर्न सक्थ्यौँ, पानी क्रान्ति गर्न सक्थ्यौँ, समग्र रुपमा विकास क्रान्ति गर्न सक्थ्यौँ,’ उनले भने, ‘तर, नेकपा एमाले गुटको प्रमुख खड्कप्रसाद शर्मा ओली (केपी ओली)का कारण यो सबै ध्वस्त भए, अब यो सबै काम एकीकृत समाजवादीले गर्छ ।’

यसैगरी उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफ्नो पार्टी टनमात्रै नभई दसौँ टनको पार्टी बन्ने दाबी गरे । यसअघि एक कार्यक्रममा ओलीले गठबन्धन दल किलोको ढक मात्रै भएकाले एमाले टनको बराबरको ढक भएको बताएका थिए ।

प्रतिक्रिया