बुधबार, चैत १८, २०८२

सरकारमा पाँच वटा मुख भएका खञ्चुवाहरू छन् : केपी ओली

मेरोन्यूज २०७८ चैत २८ गते १६:४३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै मिलेर एमालेलाई रोक्न खोजेको बताए । बझाङमा आयोजित जनसभामा बोल्दै उनले एमालेले देश विकास गरेको देखेर सबैले रोक्न खोजेको दाबी गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

अध्यक्ष ओलीले सय रुपैयाँबाट शुरु भएको वृद्ध भत्ता एमालेकै कारण अहिले दिनकै एक सय ३३ रुपैयाँमा पुर्याएको बताए । ‘नेकपा एमाले बुढाबुढीलाई सम्झिने, घरघरमा धारा ल्याउने, पक्की पुलहरू बनाएर देशमा आधुनिकता ल्याउने पार्टी हो,’ उनले भने, ‘हामीले ०५२ सालमा महिनाको सय रुपैयाँ दिने गरी शुरु गरेको वृद्ध भत्ता अहिले दिनकै एक सय ३३ रुपैयाँ बनाएका छौँ, हामीले महिनाको पाँच हजार बनाउन चाहेका थियौँ ।’

सभामा बोल्दै उनले अहिलेको सरकारमा पाँच वटा मुख भएको खञ्चुवाहरू भएको टिप्पणी गरे । ‘अहिले पाँच वटा मुख भएका खन्चिुवाहरू सरकारमा छन्, यसले देश विकास गर्ने होइन, कर्मचारीलाई समेत तलब दिन सक्ने अवस्थामा छैन,’ उनले भने । सभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था नाजुक भएको दाबी गरे ।

‘गठबन्धन नामको खैजडी सरकारलाई भन्न चाहन्छु, अब चुनाव रोक्ने षड्यन्त्र गर्ने होइन,’ उनले भने, ‘यो गठबन्धन सरकार भनेको प्रतिगामीहरूको सरकार हो, यस सरकारले लोकतन्त्र धरापमा पार्ने काम गरिरहेको छ ।’

उनले एमालेले चाहेमा गठबन्धन सरकार एक हप्तामा उखेलेर फाल्न सक्ने चेतावनी दिए । उनले भने, ‘एमालेले चाहेमा एक हप्तामा यो सरकारको जरा उखेलेर फाल्न सक्छौँ, तर चुनाव बिथोल्ने हामीलाई चाहना छैन, त्यसैले अहिले चुप लागेर बस्छौँ ।’

प्रतिक्रिया