मंगलबार, माघ १३, २०८२

स्थानीय निर्वाचन : प्रदेश १ मा एमालेका आकांक्षी धेरै, उम्मेदवार छनोटमा समस्या

मेरोन्यूज २०७९ वैशाख २ गते ४:३३

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापादेखि प्रदेश १ मा उम्मेदवार छनोट प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ । मेची नगरपालिकाको मेयरको टिकटलाई लिएर झापा जिल्लाभरि नै विवाद उत्पन्न भएको छ ।

यस्तै, पूर्वका विराटनगर, इटहरी, धरान, सोलुको दूधकुण्ड नगरपालिकालगायत धेरै स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रियालाई लिएर विवाद भएको हो । झापाको मेची नगरपालिकाको मेयरको उम्मेदवार छनोटको आन्तरिक चुनावमा पराजित भएका एमाले जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले पार्टी परित्याग गरेपछि त्यहाँ तरंग उत्पन्न भएको छ ।

आठ जनाबीच उम्मेदवार छनोटका लागि भएको निर्वाचनमा संगठित सदस्यहरूले मतदान गर्दा प्रदेश सभा सदस्य गोपाल बुढाथोकीले पहिलो लोकप्रिय मत पाएका थिए । घिमिरे चौथो भएका थिए । तर, यसको असर जिल्लाभरि परेको छ । एमालेले झापाका अधिकांश स्थानीय तहमा आन्तरिक प्रतिस्पर्धाको विधिबाट उम्मेदवार छनोटका लागि सिफारिस प्रक्रिया अगाडि बढाएको छ ।

एमालेबाट विराटनगर महानगरपालिकामा मेयर पदमा पाँच जनाको नाम सिफारिस गरिएको छ । महानगर कमिटीको बैठकले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेपछि त्यहाँ पनि एक प्रकारले विवाद देखिएको छ ।

केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेर पठाइएको छ । जसका कारण यसअघिका मेयरका उम्मेदवार विनोद ढकाल, पूर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश १ का पूर्व मन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः उनीहरूमध्ये कोही पनि सिफारिसमा परेनन् । बरु पर्शुराम बस्नेतको नाम सिफारिस भयो । बस्नेतको नाम सिफारिसपछि विराटनगरको मेयर सिफारिसमा एमालेभित्र विवाद देखिएको हो ।

तर, पूर्व अधिकांश निर्वाचनभन्दा धरान उपमहानगरको छुट्टै विशेषता रहेको एमालेका लागि भने यसपल्ट विरासत जोगाउन कठिन रहेको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आआफ्नो चुनावी रणनीति बनाउन जुटेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलले कुन वडा कसलाई भनेर भागबण्डा मिलाउन गृहकार्य गरिहेका छन् । एमाले भने २ वर्षअघिको उपनिर्वाचनमा गुमाएको विरासत फर्काउने तयारी गरे पनि योपटक निकै चुनौती रहेको छ ।

पञ्चायत कालमा पनि वामपन्थी उम्मेदवारले जितेको धरानमा २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि हरेक निर्वाचनमा कम्युनिष्टले जित्दै आएको थियो । २०४८ र २०५४ सालको स्थानीय निर्वाचनमा धरानमा एमालेले मेयर, उपमेयरसहित बहुमत वडामा जितेको थियो ।

लामो समयपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि एमालेले मेयर, उपमेयर जितेको थियो भने २० वटा वडामध्ये १४ वटामा विजयी भएको थियो । मेयर तारा सुब्बाको निर्वाचनको एक वर्षपछि नै मृत्यु भएपछि २०७६ सालमा भएको उपनिर्वाचनमा भने कांग्रेसले हात पार्यो ।

एमाले र माओवादी केन्द्रबीच एकता भएकाले पनि उपनिर्वाचनमा परिणाम आफ्नो पक्षमा आउनेमा तत्कालीन नेकपा ढुक्क थियो । तर, परिणाम कांग्रेसको पक्षमा आयो । कम्युनिष्ट उम्मेदवार प्रकाश राईलाई हराउँदै कांग्रेसबाट तिलक राई मेयरमा विजयी भएका थिए ।

अहिले एमाले केन्द्रीय सदस्यहरू आफै बसेर धरानको विरासत फर्काउन लागि परेका छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश सहइञ्चार्ज शेरधन राई पनि धरान आएर नेताहरूसँग भेटघाट गरी चुनावी छलफल गरेका छन् । केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज जगदीश कुसियतसमेत धरान आएर रिपोर्टिङ लिने, छलफल गर्ने र योजना बनाउने काम लागि परेका छन् भने देवराज घिमिरेको पनि आउजाउ बाक्लै रहेको छ ।

०७६ को उपनिर्वाचनमा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपालाई कांग्रेस एक्लैले पराजित गरेको थियो । अहिले सत्ता गठबन्धनका दलहरू चुनावमा पनि गठबन्धन गरेरै लड्ने गृहकार्यमा भएकाले एमालेलाई सहज छैन । विरासत फर्काउने कसरत गरिरहेको नेकपा एमालेले धरान उपमहानगरको मेयरका लागि ११ जना र उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

एमालेबाट धरानको मेयरका लागि मञ्जु भण्डारी, मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम सिफारिस भएको छ ।

मञ्जु भण्डारी केन्द्रीय सदस्यका साथै हालकी उपमेयर हुन । मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की प्रदेश कमिटी सदस्य हुन् ।

यस्तै, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला जिल्ला कमिटी सदस्य हुन् भने तीर्थ मास्के पूर्वजिल्ला कमिटी सदस्य हुन् । यसैगरी उपमेयरका लागि सुशीला पहाडी, लहरू जिमी, पदम इस्वो लिम्बु, इन्द्रकला राई, सविता चाम्लिङ र लीला राईको नाम सिफारिस गरिएको छ । पहाडी र जिमी प्रदेश कमिटी सदस्य हुन् भने पदम इस्वो, इन्द्रकला राई, सविता चाम्लिङ र लीला राई जिल्ला कमिटी सदस्य हुन ।

त्यसैगरी सोलुखुम्बुको दुधकुण्ड नगरपालिकाको मेयर सिफारिसमा पनि विवाद उत्पन्न भएकाले त्यहाँ पनि सर्वसम्मत नभई ६ जनाको नाम पठाइएको छ । बच्चुनारायण श्रेष्ठ, रामकाजी श्रेष्ठ, कल्पना राई, दीपक राजभण्डारी, मिङमार छिरी शेर्पालगायतको नाम सिफारिस भएको हो । त्यहाँ कांग्रेस र माओवादीको गठबन्धन हुने भएकाले कडा प्रतिस्पर्धा हुने छ ।

एमालेमा तीव्र मतभेद भएपछि विपक्षीलाई सहज हुने भएको छ । त्यसैगरी इलामको सूर्योदय नगरपालिका र उदयपुरको त्रियुगा तथा, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, संखुवासभाको खाँदबारी नगरपालिकामा पनि समस्या देखिएको छ ।

प्रतिक्रिया