मंगलबार, माघ १३, २०८२

भरतपुरका ५० जना कांग्रेसी नेता कार्यकर्ताले दिए राजीनामा

मेरोन्यूज २०७९ वैशाख ३ गते १६:५८

चितवन । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका १७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

भरतपुर महानगरको मेयरको उमेदवार नेकपा माओवादी केन्द्रलाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरूले शनिबार एक औपचारीक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्यसमेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए ।

पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएको उनले बताए । पार्टी स्वार्थ केन्द्रीत राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ ।

उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् ।

प्रतिक्रिया