सकसमा गठबन्धन : महानगर र उपमहानगरमा दलहरूको आआफ्नै दाबी

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन २६ दिन बाँकी छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ ।
मनोनयन दर्ता गर्न ७ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगर र उपमहानगरसहितका स्थानीय तहमा उम्मेदवार चयन गर्न सकेका छैनन् । सत्ता गठबन्धनमा रहेका दलबीच मात्र तालमेल गर्ने निर्णय गरेको गठबन्धनललाई अन्य स्थानीय तहको तुलनामा ६ महानगर र ११ वटा उपमहानगरको भागबण्डा मिलाउन कठिन देखिएको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दलहरुले आआफ्नो दाबी कायम राख्दा कुनै सहमति जुट्न सकेन । स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरसँगै धरान, जीतपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरमा दाबी गरेको हो ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ । सबै दलले आआफ्नो अडान राखेपछि आजको बैठकमा कुनै निष्कर्ष निस्कन नसकेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरमा आआफ्नै अडान कायम राखेका छन् । गठबन्धनले महानगर र उपमहानगरबारेको तालमेल केन्द्रबाट गर्ने निर्णय गरेको छ ।
तर, केन्द्रमा चुनावी तालमेल गर्ने निर्णय गरे पनि कतिपय क्षेत्रमा स्थानीय नेता कार्यकर्ता भने तालमेलको विपक्षमा उभिएका छन् । उनीहरूले एक्लाएक्लै चुनाव लड्ने भन्दै उम्मेदवार सिफारिस गर्दै आएका छन् ।
गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहको तालमेलबारे निर्णय गर्न गठबन्धन दलका नेता सम्मिलित संयन्त्र बनेका छन् । केन्द्रीय संयन्त्रले स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे केन्द्रमा प्रतिवेदन पेस गर्न प्रदेश संयन्त्रहरूलाई निर्देशन दिएको थियो ।
शनिबारसम्म केन्द्रमा प्रतिवेदन बुझाउनु पर्ने भनिएको थियो । तर, कतिपय प्रदेशबाट ढिलागरी प्रतिवेदन पेस भएको थियो । जसले गर्दा कार्यदलले निर्णय गर्नमा ढिलाई भएको हो । पाँच दलीय गठबन्धनको आज बसेको बैठकले कार्यदललाई भोलिसम्ममा प्रतिवेदन पेस गर्न भनेको छ ।
माओवादी र नेकपा एकीकृत समाजवादीले जनमतभन्दा बढी दाबी गरेको भन्दै कतिपय स्थानीय तहमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।
गठबन्धन दलका शीर्ष नेताहरूबीच कांग्रेसले यसअघि जितेका विराटनगर, ललितपुर र काठमाडौँ राखेर माओवादी केन्द्रलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगञ्जको प्रमुख पद भागबण्डा गर्ने तयारी छ । तर, ती क्षेत्रका स्थानीय नेता कार्यकर्ता भने त्यसको बिरोधमा छन् ।
गठबन्धन गर्ने भनिएका महानगरमा कांग्रेसको अवस्था अन्य गठबन्धन दलहरुको भन्दा बलियो छ । जसका कारण कांग्रेसका नेताहरुले ति क्षेत्र नछाड्न केन्द्रमा दबाब दिइरहेका छन् ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित शेखर कोइरालाले स्थानीय स्तरमा तालमेल स्वीकार गर्न नहुने बताइरहेका छन् । तर, सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने तालमेलको पक्षमा छन् ।
भरतपुरलगायतमा स्थानीय नेताहरूले तालमेल नभएर मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने अन्यथा प्रतिवाद गर्ने भनिरहँदा देउवाले जबरजस्त यसबारे निर्णय गर्न त्यति सहज भने छैन । तल्तो तहमा विरोध भइरहँदा गठबन्धन गरे पनि मत प्रभावित हुन सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया