बुधबार, माघ ७, २०८२

आईजीपी नियुक्तिका लागि मन्त्रिपरिषद्को वैठक सुरु

मेरोन्यूज २०७९ वैशाख १८ गते १३:२३

काठमाडौं । नेपाल प्रहरीको २९ औं महानिरिक्षक (आईजीपी) नियुक्तिको लागि मन्त्रि परिषद्को वैठक सुरु भएको छ । शैलेश थापा क्षेत्रीको अवकाससँगै रिक्त रहने आईजीपी नियुक्तिका लागि मन्त्रिपरिषद्को वैठक सुरु भएको हो ।

गृहमन्त्रालयले आईजीपी नियुक्तिका लागि अतिरिक्त महानिरिक्षक (एआईजी)हरु विश्वराज पोखरेल, शहकुल थापा, धिरज प्रताप सिंह र रविन्द्र धानुकलाई मन्त्रिपरिषद्मा सिफारीस गरेको छ । उनिहरु मध्यकै एक जनालाई प्रहरीको नयाँ आईजीपी बनाउनको लागि मन्त्रिपरिषद्को बैठक बसेको हो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो नंबरमा रहेका धिरज प्रताप सिंहलाई आईजीपी बनाउन पहल गरेका छन् भने गृहमन्त्री बालकृष्ण खाणले पहिलो नंबरमा रहका विश्वराज पोखरेललाई आईजीपी बनाउन पहल गरेका छन् ।

महानिरीक्षक बनाउने विषयमा गृह मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवाबीच फरक फरक मत देखिएको छ । यद्यपी प्रधानमन्त्री देउवाले भने वरीयताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने अडान लिएका छन् ।

जसले गर्दा गृह मन्त्रालयको सिफारिस फेल हुने देखिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार देउवाले सिंहलाई नै आईजीपी बनाउने अडान लिएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीभित्र रहेको ‘चेनअफ कमाण्ड’लाई नै भत्काउने आशय व्यक्त गरेका थिए । सोही अनुसार पोखरेललाई नै आईजीपी बनाउनुपर्ने उनको माग छ ।

चुनावको मुखमा प्रहरीको ‘चेनअफ कमाण्ड’लाई भत्काउने तरिकाले आईजीपी नियुक्ति गर्दा चौतर्फी विवाद हुने देखिएपछि सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रअध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समेत देउवालाई पुनःविचार गर्न आग्रह गरेको स्रोतको दावी छ ।

सत्तारुढ दलको लचकतालाई हेर्दा विश्वराजको संवावना समेत उत्तिकै देख्निछ ।

प्रतिक्रिया