शुक्रबार, माघ १६, २०८२

जीतपुर-सिमराका मेयर उम्मेदवार राजन पौडेल भन्छन्

मलाई जनताले मेयरकै रुपमा स्वीकार गरिसके

मेरोन्यूज २०७९ वैशाख १८ गते १७:२५

(नेकपा माओवादी केन्द्रका मधेस प्रदेश सदस्य राजन पौडेल बाराको दुई उपमहानगरमध्ये एक जीतपुर सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा मेयरमा निर्वाचन लड्दैछन् । उनी गत स्थानीय तह चुनावमा पनि मेयरमा चुनाव लडेका थिए । तर, त्यसबेला थोरै मतान्तरले निर्वाचनमा पराजय भोगेका पौडेल त्यसयता निरन्तर जीतपुर सिमरामै बसेर जनतासँगै जोडिएर काम गर्दै आएका थिए । यसपटक उनी उम्मेदवार बनिरहँदा निर्वाचन आफैले जित्ने दाबी गरिरहेका छन् । उनीसँग गरिएको कुराकानीको अंश :

* राजनीतिक पृष्ठभूमि र जीतपुर सिमराको अवस्था ?

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जीतपुर सिमरा उपमहानगरको मेयरका लागि उम्मेदवारी दिएका छन् । जीतपुर सिमरा उपमहानगर ३ सिमरा, बजिनीका स्थानीय बासिन्दा उनी जनयुद्ध कालदेखि माओवादीमा सक्रिय थिए । स्कुले जीवनबाट राजनीतिमा चासो राख्ने उनी पहिला एमाले निकट विद्यार्थी संगठनमा आबद्ध भए । ०५५ सालदेखि काठमाडौँमा माओवादीनिकट विद्यार्थी संगठनमा आबद्ध भएर काम गरे ।

०५७ सालमा माओवादीको पूर्ण कालीन सदस्य तथा सोही वर्ष काठमाडौँ क्याम्पस स्ववियू सदस्यमा निर्वाचित बने, उनी । स्नातकसम्म अध्ययन गरेका उनी ०५८ सालमा संकट कालका बेला गिरफ्तार भई एक वर्षपछि छुटेका थिए । त्यसको एक वर्षपछि पुनः पक्राउ परे । त्यसबेला २८ महिनासम्म विभिन्न हिरासतमा रहेका उनी दोस्रो जन आन्दोलनपश्चात् जेठ १० गते रिहा भए । त्यसपश्चात् पार्टीमा सक्रिय बारा जिल्लालाई कार्य क्षेत्र बनाएर निरन्तर क्रियाशील भएर राजनीति गर्दै आए ।

मधेस–प्रदेश कमिटी सदस्यसमेत रहेका पौडेल ०७४ सालको स्थानीय निर्वाचनमा सोही क्षेत्रमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका थिए । कडा प्रतिस्पर्धाका बीच पराजित भएका उनी जीतपुर सिमरा क्षेत्रमा हारेको प्रतिनिधिका रुपमा नभईं जित हासिल गरेको प्रतिनिधिका रुपमा काम गर्दै आएका थिए । जनताप्रतिको लगनशील र उत्तरदायित्वका कारण यसपटक उनी आफ्नो जीत सुनिश्चित भएको विश्वास व्यक्त गर्छन् ।

* जीतपुर सिमराको विशेषता के ?

राष्ट्रिय जनगणना ०६८ अनुसार नवघोषित जLतपुर सिमरा उपमहानगरको जनसंख्या एक लाख १४ हजार १८५ रहेको छ । त्यस्तै क्षेत्रफल ३०९.६७ वर्ग किमी रहेको छ । यो क्षेत्र औद्योगिक करिडोरको क्षेत्र हो । वीरगञ्ज–पथलैया करिडोरका अधिकांश क्षेत्र यस उपमहानगरभित्र पर्छ । साना–ठूला उद्योगहरू, मुलुकको जेठो विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्जलगायत विभिन्न महत्वका केन्द्र यही रहेको छ । मुख्य पेशा कृषि भएकाले यो क्षेत्रका ठूलो भूभागहरूमा कृषि काम हुँदै आएको छ । पछिल्लो एक दशकमा सिमराले विकासमा परिचय फेरेको छ । राजनीतिक, आर्थिक, सामाजिक र बहु आयामिक रूपमै सिमराको विकास तीव्र गतिमा अघि बढेको छ ।

* निर्वाचनमा तपाईंका एजेण्डा ?

अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेले नेतृत्व गरेको यस उपमहानगर सुशासनमा पछाडिबाट दोस्रोमा र भ्रष्टाचारमा पहिलो नम्बरमा परेको चर्चा परिचर्चाहरू छन् । यसले नगरबासीको मनोबल गिरेको छ । त्यो मनोबललाई उच्च मनोबलमा अगाडि बढाउने आफ्नो प्रमुख एजेण्डा भएको उनी बताउँछन् ।

कलकारखाना सञ्चालनका कारण वातावरण प्रदूषणले स्थानीयबीच द्वन्द्वको स्थिति सिर्जना भएकाले त्यसको नियन्त्रणका लागि वातावरणीय प्रदूषण नियन्त्रणका लागि उद्योग धन्दाहरूलाई सरकारले तोकेको मापदण्डभित्र ल्याएर औद्योगिक वातावरण सिर्जना गर्ने सोच रहेको छ । सार्वजनिक शिक्षा सुधारका लागि आवश्यक काम गर्ने, शैक्षिक योजनाहरूसँगै तल्लो तहदेखि नै आधारभूत तथा माध्यमिक तहबाट नै मानवीय संवेदनाबारे सिकाउने, महिला हिंसामुक्त गर्ने, संस्कार र संस्कृतिको नाममा गरिने रुढीवादी परम्परालाई निर्मुल पार्ने, वैज्ञानिक तथ्यसहितका कुराहरूलाई अनुसरण गर्ने हिसाबको वातावरण निर्माण गर्नेलगायतका शिक्षा नियमहरू अघि सार्ने ।

वातावरणमैत्री विकासलाई अघि बढाउने । कृषि, औद्योगिक, घरेलु तथा साना उद्योगहरूसँग जोडिएर स्वरोजगारका विषयलाई अघि बढाउने । खेलकुद क्षेत्र नेकपा माओवादी केन्द्रकै पहलमा रंगशाला निर्माण कार्य अघि बढाइने छ । साथै, कला साहित्य संस्कृति तथा नाटकको क्षेत्रमा विकास गरिन्छ । भाषिकको हिसाबले भोजपुरी भाषालाई प्रोत्साहित गर्ने उद्देश्यले काम गर्दै जाने तयारी छ ।

* जितको आधार के-के हो ?

अघिल्लोपटक पनि उम्मेदवार हुँदा प्रतिस्पर्धात्मक हिसाबले पराजित भएका पौडेल यसपटक जित सुनिश्चित भएको दाबी गर्छन् । अघिल्लो निर्वाचनमा हार व्यहोरे पनि त्यहाँका जनताबाट आफू कहिल्यै टाढा नभएको, जनताको घर दैलोमा जाने, उनीहरूको दुःख सुखमा सहभागी हुने, जनताको समस्याहरू समाधानतर्फ लाग्ने गरेकाले पछिल्लो तीन वर्षयता उनलाई हारेको राजन पौडेल नभई जनताले मेयरकै रुपमा स्वीकार गरिसकेका छन् । जनताप्रतिको उत्तरदायी र इमान्दारिताले अबको मेयर उनी हुने देखिन्छ ।

त्यस्तै, पहिलेको तुलनामा माओवादी संगठन सुदृढीकरणतर्फ लागेको छ । पार्टीको भेला, सम्मेलन महाधिवेशनसम्म हुँदा माओवादीको संगठन मजबुत भएको देख्न सकिन्छ । यसले पनि जित सुनिश्चिततातर्फ बढेको हो । त्यस्तै नेपाली कांग्रेससँगको गठबन्धनका कारण पनि भारी मतान्तरले विजयी हुने निश्चित छ । कांग्रेसले पनि नेविसंघको अध्यक्षको दाबेदार मिरा शाहीलाई उपाध्यक्षका लागि प्रस्तावित गरेको छ । यसले गठबन्धनले भारी मतान्तरले चुनाव जित्ने निश्चित छ ।

* जीतपुर सिमरामा भ्रष्टाचारको अवस्था र भ्रष्टाचार निवारणमा तपाईंको योजना के छन् ?

माओवादी केन्द्रले जित हासिल गरेमा भ्रष्टाचारलाई निर्मुल पार्न सकिन्छ । भ्रष्टाचार देशकै पहिलो स्थानमा परेको यस क्षेत्रको चौतर्फी आलोचना भइरहेकामा हामी त्यसलाई सुधार गर्न सक्छौँ । सुशासन कायम गरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक काममा लाग्ने छौँ । सामूहिक हिसाबले नगरपालिकाको हित, आम जनसमुदायको हितमा केन्द्रित रहेर कार्य योजनाहरू निर्माण गर्ने छौँ । अघिल्लो कार्यकालमा नगरसभा पङ्गु तरिकाले सञ्चालित भएको देख्न सकिन्छ ।

हामी त्यसलाई अत्यन्त शक्तिशाली र नगरसभाको भावना मर्मअनुसार सञ्चालन गर्ने छौँ । र, सोहीअनुसार कार्य योजनाहरू बनाएर कार्य पालिकाबाट अन्तिम निर्णय गराएर अगाडि बढ्छौँ । मिडियाकर्मी सामु सम्पूर्ण सूचनाहरू पारदर्शी तरिकाले राख्ने छौँ । नगरपालिकालाई मिडियाकर्मीहरूको निगरानीमा राखेर भ्रष्टाचार अन्त्य गर्न सक्छौँ ।

प्रतिक्रिया