आइतबार, चैत २२, २०८२

बाबुरामदेखि नारायणकाजीसम्म एउटै स्वर : सिर्जना सिंहको जित निश्चित

मेरोन्यूज २०७९ वैशाख २२ गते १७:५०

काठमाडौँ । सत्ता गठबन्धन दलले काठमाडौँ महानगरमा मेयरको उम्मेदवार बनाएको सिर्जना सिंह जिताउन गोरखाका शीर्ष नेताहरू एकै ठाउँमा उभिएर समर्थन जनाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

गोरखा काठमाडौँ चुनाव प्रचार प्रसार समूहले आयोजना गरेको कार्यक्रममा गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेतृ कमला पन्त, चिरञ्जीवी वाग्लेलगायत नेताहरूले सिर्जना सिंह जस्तो सालिन व्यक्तित्व मेयर उम्मेदवारको रुपमा काठमाडौँले पाउनु सौभाग्य भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै मेयरकी उम्मेदवार सिंहले माइती जिल्ला गोरखाबाटै राजनीति यात्रा शुरु गरेको उल्लेख गर्दै मेयर भएमा पार्टीको घोषणा पत्र र आफ्नो संकल्पअनुसार काम गर्ने बताइन् । देशको एकीकरण गोरखाले गरेको उल्लेख गर्दै अब काठमाडौँको मेयर बनेर गोरखाको चेलीले काठमाडौँ सफा सुन्दर र व्यवस्थित गर्ने बताएन् ।

सिंहले पहिले न्याय नपाए गोरखा जानू भन्ने प्रचलन रहेको बताउँदै अब न्याय नपाए काठमाडौँको मेयरको जाने वातावरण बनाउनेसमेत बताइन् । पहिले राजनीतिबाट घर सम्हाल्न पुगेको बताउँदै अब सबै सिपको प्रयोग गरेर अवसर पाए काठमाडौँ सम्हाल्नेसमेत सिंहले बताइन् ।

काठमाडौँमा साना समस्याले गाजेको उल्लेख गर्दै अब स्वच्छ काठमाडौँ र सफा काठमाडौँ नै प्रमुख अभियान रहने सिंहले बताइन् ।

जसपाका अध्यक्ष डा. भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताए । कोही परिवारसँग जोडियो भने महिलालाई आरोप लगाउने गरेको बताउँदै सिंह आफ्नै बलवुतामा नेता भएको बताए ।

‘हामी गठबन्धन मात्रै नभएर गोरखाको चेलीसमेत भएकाले सालिन व्याक्तित्वलाई मेयर जिताउनुको विकल्प छैन,’ भट्टराईले भने ।

अहिले एमालेले आगाडि सारेका केशव स्थापितप्रति पहिले आफूमा पनि भ्रम रहेको बताउँदै उनमा डेट एक्सपाएर ओखती रहेको बताए ।

आफू प्रधानमन्त्री हुँदा विकास प्राधिकरणमा लगेको तर पछि उनीपछि निकालेको प्रसंग कोट्याउँदै सिर्जना सिंहको जित निश्चित भएको बताए। ‘सिंहले अगाडि सारेको घोषणा पत्र व्यवहारिक छ, उहाँले जितेपछि सबैलाई समेटेर राम्रो महानगर बनाउने अभियानको नेतृत्व गर्ने हुनुहुन्छ,’ भट्टराईले भने ।

माओवादी केन्द्रका नेता श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताए । काठमाडौँमा पहिलोपटक महिला मेयर आउने निश्चत भएको बताउँदै सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मित्थ्या भएको दाबी गरे । सिंहको राजनीति यात्रा लामो रहेको बताउँदै प्रकाशमानभन्दा आगाडि नै रहेको बताए।

‘मैले नेपाली कांग्रेसबाट गोरखाबाटै राजनीति शुरु गरेको हो, सोही समयमा सिर्जना श्रेष्ठले कांग्रेसको राजनीति सक्रिय हुनु हुन्थ्यो,’ श्रेष्ठले भने । सिंहको जित संविधान लोकतन्त्रको समेत जित हुने भएकाले पनि जित अनिवार्य सर्त रहेको बताए ।

श्रेष्ठले सिंहको प्रतिस्पर्धी केशव स्थापित अवसरवादीको परकाष्ठा भएको बताए । स्थापित जस्तो हावादारी उम्मेदवारलाई जनतालाई भोट नदिने दाबी श्रेष्ठको थियो ।

कांग्रेस नेता चिरञ्जिवी वाग्लेले सिर्जना सिंह गोर्खाका परिवार २००७ साल देखिकै क्रान्तिमा सहभागी रहेको बताउँदै सिंहको राजनीति सक्रियता गोर्खाबाटै भएको बताए । उनले आफू स्थानीय विकास मन्त्री हुँदा काठमाडौँको मेयर हुँदा तत्कालीन मेयर पिएलसिंहले जम्मा पारिदिएको पैसामा रजाइँ गरेर हावदारी गफ गर्दै हिँडेको सम्झना ताजै रहेको बताए । सिर्जना सिंहसँग काठमाडौँ मेयरमा कसैको पनि प्रतिस्पर्धा नहुने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले न्याय नपाए गोरखा जानू भनेर पढेको उल्लेख गर्दै गोर्खाकी चेली सिर्जना सिंह काठमाडौँमा मेयर बनेर न्याय दिने बताए । सिंहको राजनीति विरासतको नभएर आफै उठेको महिला भएको बताए ।

गोरखा काठमाडौँ चुनाव प्रचार प्रसार समूहले आयोजना कार्यक्रममा खतिवडाले केपी ओली जसरी हावादारी कुरा गरेर जनतालाई भ्रमीत पर्छन । त्यस्तै, पार्टी र संगठनसमेत ठेगान नभएका केशव स्थापितलाई अगाडि सारेको बताउँदै सम्पूर्ण जनताले एक मत भएर सही ठाउँमा मतदान गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसले छानेको उम्मेदवार सिंहले जित्दै गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाउने बताए ।

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखाबाट आउने कुनै पनि पार्टी नभनी जिताउने अभियानमा लाग्न आग्रह गरेका छन् ।

कांग्रेस नेतृ कमला पन्तले काठमाडौँको मेयरको रुपमा गोरखाको चेली पाउनु गर्वको विषय भएको बताइन् ।

प्रतिक्रिया