बिहीबार, माघ ८, २०८२

हत्याको आरोपमा तीन वर्षपछि युवक पक्राउ

मेरोन्यूज २०७९ वैशाख २२ गते २०:१५

काठमाडौँ । कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नैकाप बस्ने सिन्धुलीको कमलामाई नगरपालिका १० का २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका छन् ।

काठमाडौँ महानगर ३२ तिनकुनेस्थित गैरीगाउँको पेट्रोल पम्प नजिक महेश परियार, मनिष बानियाँ र सरोज सुन्दाससमेतले २०७५ मंसिर ८ गते चक्कु प्रहार गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् फरार रहेका सुन्दासलाई नैकापमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरी कानूनी कारबाही अघि बढाएको आज एक सूचना जारी गरी जनाइएको छ ।

उक्त घटनामा संलग्न महेश परियार र मनिष बानियाँलाई घटना भएकै दिन काठमाडौँको तारकेश्वर नगर १ साङ्लाबाट नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौँको फैसलाले जन्म कैद सजाय भोगिरहेका छन् ।

सुन्दासलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको जनाइएको छ ।

प्रतिक्रिया