बुधबार, माघ ७, २०८२

निर्वाचनको दिन यी स्थानमा बिहानैदेखि मेघ गर्जनसहित वर्षा हुने

मेरोन्यूज २०७९ वैशाख २५ गते २१:२५

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ ।

आज जारी गरिएको बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

साथै दक्षिण बंगालको खाडीमा चक्रवात ‘असानी’ विकसित भएको छ । उक्त प्रणाली उत्तरपश्चिम (भारत)तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गतेसम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना देखिन्छ । सो कारणले आसन्न स्थानीय निर्वाचनमा देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

प्रदेश १ बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने जनाएको छ ।

प्रतिक्रिया