शनिबार, माघ १७, २०८२

बुटवल एमालेका मेयर उम्मेदवारकी श्रीमतीले प्रहरी नियन्त्रणमा

मेरोन्यूज २०७९ वैशाख २८ गते १७:५९

काठमाडौँ । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती मौन अवधिमा मतदाता प्रभावित गर्न गएको अवस्थामा पक्राउ परेकी छन् ।

बुटवल उपमहानगर ११ टपमजुवामा सिर्जना भुसालको घरमा उपमहानगर प्रमुखमा एमालेका उम्मेदवार भट्टराईकी श्रीमती मायादेवीलाई फेला पारेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

‘प्रहरीले मायादेवीलाई बुटवल ११ टपमझुवामा भुसालको घरमा फेला पारेको हो,’ उपरीक्षक रेग्मीले भने, ‘उहाँले आफन्तको घरमा आएको बताउनु भएको छ, तर अन्य पार्टीका नेता कार्यकर्ताले मौन अवधिमा मतदाता प्रभावित पार्न आएको बताइरहनु भएको छ, प्रहरीले खानतलासी गर्दै छ ।’

मायादेवी भेटिएको सुकुम्बासी बस्तीको टहरामा हो । सुकुम्बासी बस्तीमा मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप कांग्रेसले लगाएको छ ।

‘सुकुम्बासी बस्तीका टहरामा के आफन्त मतदाता प्रभावित पार्न गएकी हुन्,’ कांग्रेसका एक नेताले भने । अहिले टपमझुवामा कांग्रेस र एमाले कार्यकर्ता जम्मा भएकाले केही असहजता भइरहेको प्रहरीले बताएको छ ।

अहिले प्रहरीले खानतलासी गरिरहेको र यो अनुसन्धान सकिएपछि मात्रै उम्मेदवारकी श्रीमती किन आएको भन्न सकिने उपरीक्षक रेग्मीले बताए ।

प्रतिक्रिया