शनिबार, माघ १७, २०८२

कास्कीमा मतदान केन्द्रमा काम शुरु

मेरोन्यूज २०७९ वैशाख २८ गते २०:३७

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनका काम शुरु भएको छ ।

सबै मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको र निर्वाचन प्रक्रियाका तयारीका काम शुरु भइसकेको प्रदेश निर्वाचन कार्यालय पोखरा सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारीसँगै अधिकांश केन्द्रमा आज निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सर्वदलीय बैठक सम्पन्न भएको उनले बताए ।

कास्की जिल्लामा पोखरा महानगरसहित चारवटा गाउँपालिका मादी, अन्नपूर्ण, माछापुच्छ्रे र रुपा रहेका छन् । जिल्लामा सुरक्षाकर्मीबाहेक एक हजार ६८० कर्मचारी र एक हजार आठ स्वयंसेवक परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालय पोखरा प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

कास्कीमा १५० मतदान स्थल र ३३६ मतदान केन्द्र रहेको जानकारी दिँदै प्रमुख पराजुलीले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सबै किसिमको तयारी गरिएको बताए ।

निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि शुरु भएकाले आज दलका प्रचार प्रसार कार्यक्रम नहुँदा सहर र गाउँका बस्ती सुनसानजस्तै बनेका छन् । मौन अवधिमा निर्वाचन आचार संहिता पूर्णरूपमा पालना गराउनका लागि अनुगमनलाई प्रभावकारी बनाइएको मुख्य निर्वाचन अधिकृत श्री कृष्ण भट्टराईले जानकारी दिए ।

निर्वाचनका कारण मतदाता घर फर्कन थालेसँगै सहरी क्षेत्र सुनसान बनेको छ भने गाउँहरू भरिन थालेका छन् ।

प्रतिक्रिया